
कञ्चनपुर, १६ भदौ । कञ्चनपुरको बेलडाँडी गाँउपालिका–१ का अन्दाजी १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका मानबहादुर विष्ट रहेका छन् । पक्राउ परेका विष्टलाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताउनुभयो ।
गत बिहीबार राति २ बजे किशोरीको घरमा पूजापाठ भइरहेका बेला मोटरसाइकलमा आएका दुई जनाले उनलाई सडकमा बोलाई लगेका थिए । शुक्रबार किशोरीलाई जवदिया भन्ने स्थानबाट प्रहरीले उद्धार गरेको थियो । बलात्कारमा संलग्न अर्का एक जनाको प्रहरीले खोजी गरिरहेको छ । किशोरीको स्वास्थ्य परीक्षणलगायतका कार्य सम्पन्न गरी अनुसन्धानको कार्य जारी रहेको बताइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


