
झापा, १५ माघ । नेपालमा कोरोना संक्रमणदर केही दिनदेखि ओरालो लाग्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ। माघ ९ गते ५०.८ प्रतिशत रहेको संक्रमणदर विस्तारै ओरालो लाग्दै गएको तथ्यांकबाट देखिन्छ।
परीक्षण गरिएका नमुनामा माघ ११ गते ४८।७ प्रतिशत, १२ गते ४६।३ प्रतिशत, १३ गते ४१।५ प्रतिशत र १४ गते ३६।८ प्रतिशत संक्रमित भएको देखिन्छ। यो हिसाबले ६ दिनको अवधिमा १४ प्रतिशत बिन्दुले संक्रमण दर घटेको देखिन्छ। ९ गते यता प्रत्येक दिन २ देखि ४ प्रतिशत बिन्दुले संक्रमणदर घट्दै गएको तथ्यांकले औंल्याएको छ।
पछिल्लो चौबिस घण्टामा परीक्षण भएका १९ हजार ८ सय ६९ वटा नमुनामध्ये ६ हजार ८ सय २७ मा संक्रमण पुष्टि भएको छ। अघिल्लो दिन संक्रमित संख्या ८ हजार १७ थियो।
शुक्रबार थपिएकासहित मुलुकमा सक्रिय संक्रमितको संख्या ८९ हजार ८ सय ६९ पुगेको छ। संक्रमितमध्ये २ सय ५६ जनाको आइसियुमा र ४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। अन्य होम आइसोलेसन र संस्थागत आइसोलेसनमा छन्। राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले माघको तेस्रो सातासम्म संक्रमणदर दैनिक २० हजारसम्म पुग्न सक्ने र त्यसपछि ओरालो लाग्ने प्रक्षेपण गरेको थियो।
केहीले संक्रमित भएर पनि परीक्षण नगराएको र केही संक्रमित घरमै बसेकाले तथ्यांकमा समावेश हुन नसकेको देखिन्छ। आजको नागरिक दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



