
सन्तोष शर्मा
झापा, १७ माघ । झापामा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकबाट फर्किएकाहरुमा कुष्ठरोग देखिएको छ ।
वैदेशिक रोजगारको सिलसिलामा दुईब, साउदी, कतार लगायतका मुलुकबाट फर्किएकाहरुमा कुष्ठरोग देखिएको नेपाल कुष्ठरोग संगतिका झापा कार्यक्रम इञ्चार्ज पर्शुराम पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार झापामा चालू आव २०७८÷०७९ को पुस मसान्तसम्म त्यस्ता पाँच जना कुष्ठरोगी फेला परेका छन् ।
झापाको बुद्धशान्ति गाउँपालिकामा दुई, झापा गाउँपालिका, दमक नगरपालिका र बिर्तामोड नगरपालिकामा एक÷एक जना त्यस्ता कुष्ठरोगी फेला परेका हुन् । उनीहरुको रोग पहिचानपछि उपचार सुरु भइसकेको छ । यसबाट वैदेशिक रोजगारीमा जानेहरु समेत कुष्ठरोगको जोखिम रहेको देखिन्छ । “विदेशमा काम गर्ने क्रममा धेरै जना एउटै कोठामा बस्ने गर्छन्”, इञ्चार्ज पोखरेलले भन्नुभयो, “जसका कारण उनीहरु कुष्ठरोगको जोखिम हुन्छ ।”
झापामा चालू आर्थिक वर्षको पुष मसान्तसम्ममा ३६ जना नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिनुभयो । जसमध्ये एक जना बालक र एक जना बालबालिका रहेका छन् । कुष्ठरोग निर्मूल पार्न ०–१४ वर्ष उमेर समूहलाई विशेष रुपमा हेरिन्छ । तर, दुई जना बालबालिकामा कुष्ठरोग देखिनुले उनीहरु कुष्ठरोगको जोखिममै रहेको देखिन्छ । जिल्लामा गत वर्ष १० जनामा बालबालिकामा कुष्ठरोग देखिएको थियो ।
कुष्ठरोगको जटिलता अनुसार १४ जनालाई ६ महिने र २२ जनालाई एक वर्षे कुष्ठरोगको औषधि सेवन गराइँदैछ । जिल्लामा औषधिबाट मात्रै उपचार सम्भव नभएका बिरामीलाई कुष्ठरोग सेवा केन्द्र लालगढ र आनन्दवन पठाइँदै आएको छ । गत वर्ष त्यस्ता २१ जना कुष्ठरोगीलाई पठाइको बताउँदै श्रेष्ठले भन्नुभयो, “यस वर्षपछि तीन÷चार जना रोगीलाई थप उपचारका लागि पठाएका छौँ ।
झापामा पछिल्लो चार वर्षयता कुष्ठरोगीको संख्या भने घट्दै गएको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाउँछ छ । जिल्लामा आव २०७५÷०७६ मा २१२ जना, आव २०७६÷०७७ मा १४० र आव २०७७÷०७८ मा ९५ जना कुष्ठरोगी फेला परेका थिए । चालू आर्थिक वर्षको छ महिनाको अवधिमा ३६ जनामा कुष्ठरोग दिएको छ । यसले जिल्लामा कुष्ठरोगीको संख्या घट्दै गएको देखाउँछ ।
तर, कुष्ठरोग निवारण अभियानमा जुटेकाहरु भने कोरोना भाइरसको संक्रमणका कारण कुष्ठरोगीको पहिचान गर्न नसकिएकाले तथ्यांक कम आएको बताउँछन् । नेपाल कुष्ठरोग संगतिका झापा कार्यक्रम इञ्चार्ज पोखरेलले भन्नुभयो, “कोरोना कारण ‘केश फाइण्डिङ’को काम हुन सकेको छैन, अहिले देखिएका कुष्ठरोगी स्वतस्फूर्तरुपमा हाम्रो सम्पर्कमा आएका हुन् ।”
त्यस्तै, स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षणक श्रेष्ठ सक्रिय खोजपड्ताल अर्थात् घरघरमा गएर चेकजाँच गर्ने हो भने कुष्ठरोगीको संख्या बढ्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यो एउटा सामाजिक रोग हो, यो सामाजिक संस्कारसँग जोडिएको छ, त्यसैले यसलाई निर्मूल पार्नु चुनौतिपूर्ण काम हो ।”
स्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरी पौडेल मानिसमा व्याप्त अज्ञानताले कुष्ठरोगलाई मलजल गरेको बताउनुहुन्छ । “सामाजिक विभेदको डर पनि लक्षण देखिए पनि कुष्ठरोग पहिचानका लागि मानिस आउँदैनन्”, उहाँले भन्नुभयो, “जसले रोगको पहिचान नभएर समुदायमा कुष्ठरोगको जोखिम बढिरहेको छ ।” छाला र स्नायूमा असर गरी मानिसको शरीर अंगभंग हुने कुष्ठरोगको एक मात्रा औषधि सेवनले मात्र पनि रोगको सर्ने सम्भावना ९९ प्रतिशत घट्ने उहाँले बताउनुभयो ।
कपिलवस्तु र बाँकेपछि झापा मुलुकभरमा कुष्ठरोगी संख्या बढी भएको झापा तेस्रो जिल्ला हो भने प्रदेश नं. १ मा पहिलो हो । झापापछि मोरङ दोस्रो स्थानमा छ । सन् २०३० भित्रमा कुष्ठरोग मुक्त मुलुक बनाउने सरकारको लक्ष्य छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



