
बनियानी, १८ माघ । झापाको कचनकवल गाउँपालिकाले स्वास्थ्य स्वयम्सेविकालाई साइकल उपलब्ध गराएको छ ।
स्वास्थ्य स्वयम्सेविकाहरुको कामलाई सहज र छिटो–छरितो बनाउने उद्देश्यले उनीहरुलाई गाउँपालिकाले साइकल वितरण गरेको हो । गाउँपालिकामा हाल सेवारत् ६१ जना र वर्षौसम्म सेवा पुर्याएर हाल अवकाश भएका सातजनासमेत ६८ जनालाई आज एक संक्षिप्त कार्यक्रमका बीच साइकल वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष अञ्जरा आलम, उपाध्यक्ष निमसरी राजवंशी, प्रमुख प्रशासकीय अधिकृत कुमार वस्नेत, योजना शाखा प्रमुख केशव मैनालीलगायतले स्वयम्सेविकाहरुलाई साइकल हस्तान्तरण गर्नुभएको थियो ।
गाउँपालिकाको वार्षिक योजना अनुसार स्वयम्सेविकालाई साइकल वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत कुमार वस्नेतले जानकारी दिनुभयो । साइकल खरिदमा करिब ५ लाख रुपैयाँ खर्च भएको योजना शाखा प्रमुख केशव मैनालीले जानकारी दिनुभयो ।
सोही कार्यक्रमका बीच सेवाबाट अवकाश पाएका सातजना स्वयम्सेविकालाई गाउँपालिकाको तर्फबाट २५ हजार नगद पारितोषिकसहित सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट महेशचन्द्र नेपालले गर्नुभएको थियो ।

नयाँ साइकल पाउँदा निकै खुशी भएका स्वास्थ्य स्वय्सेविकाहरुले गाउँपालिकाले आफ्नो कामको सम्मान गरेको प्रतिक्रया दिएका छन् । गाउँपालिका अध्यक्ष आलमले स्वास्थ्य सचेतनाको अभाव रहेको गाउँ–वस्तीमा पुगेर खासगरी बालबालिका र महिलाहरुको स्वास्थ्य सुरक्षामा स्वास्थ्य स्वयम्सेविकाहरुले पुर्याएको योगदान अतुलनीय रहेको भन्दै उनीहरुलाई काममा थप प्रेरित गर्न र उनीहरुको कामलाई सहज बनाउन साइकल प्रदान गरिएको बताउनु भयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



