
सन्तोष शर्मा
झापा, २९ माघ । झापा क्षेत्र नं. १ का सामुदायिक स्वास्थ्य इकाइहरु सुविधा सम्पन्न बन्न थालेका छन् ।
अत्याधुनिक ल्याब सेवा शुरु भएसँगै यहाँका सामुदायिक स्वास्थ्य इकाइहरु सुविधा सम्पन्न बन्न थालेका हुन् । झापा क्षेत्र नं. १ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत मेचीनगर आठ वटा वडामा र बुद्धशान्ति गाउँपालिकाको तीन वटा वडाको चार वटा सामुदायिक स्वास्थ्य इकाइहरुमा ल्याब सेवा सञ्चालनका लागि ल्याब सामग्री उपलब्ध गराइएको झापा क्षेत्र नं. १ का सांसद राम कार्की (पार्थ) ले जानकारी दिनुभयो ।
“सामुदायिक स्वास्थ्य संस्थालाई सुविधा सम्पन्न बनाउन सामग्री प्रदान गरिएको हो”, उहाँले भन्नुभयो, “यसबाट नागरिकले घरगाउँमै सेवा पाउनुका साथै संविधान प्रदत्त स्वास्थ्यको अधिकार सुनिश्चितता सहयोग पुग्नेछ ।”
अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को योजना अनुरुप गत साउनमा रू ५७ लाख बराबरको ल्याब सामग्री उपलब्ध गराइएको सांसद कार्कीका स्वकीय सचिव शिबु बुढाथोकीले जानकारी दिनुभयो ।

“सामुदायिक स्वास्थ्य संस्थालाई सुविधा सम्पन्न बनाउन सामग्री प्रदान गरिएको हो, यसबाट नागरिकले घरगाउँमै सेवा पाउनुका साथै संविधान प्रदत्त स्वास्थ्यको अधिकार सुनिश्चितता सहयोग पुग्नेछ ।”
जसमध्ये मेचीनगरका छ वटा वडा (पूर्व गाविस रहेकाहरु)–मा हेमाटोलोजी एनालाइजर (पार्ट थ्री) मेसिन प्रदान गरिएको छ । जसले एकै पटक धेरै वटा नमूना परीक्षण गर्न सकिन्छ ।
मेचीनगर–११ को स्वास्थ्य इकाइ धाइजन, वडा नं. १४ को स्वास्थ्य इकाइ दुहागढी, वडा नं. १० को स्वास्थ्य इकाइ धुलाबारी, वडा नं. १५ को स्वास्थ्य इकाइ ज्यामिरगढी, वडा नं. ६ को स्वास्थ्य इकाइ काँकरभिट्टा र वडा नं. ४ को स्वास्थ्य इकाइ बाहुनडाँगीलाई हेमाटोलोजी एनालाइजर उपलब्ध गराइएको हो ।
मेचीनगर नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सबिता सापकोटाले मेचीनगरका ११ वटा वडाका सामुदायिक स्वास्थ्य इकाइहरुमा अत्याधुनिक ल्याब सेवा सञ्चालन हुन लागेको बताउनुभयो ।
“तीन वटा स्वास्थ्य इकाइहरुमा सेवा शुरु भइसकेको छ”, उहाँले भन्नुभयो, “थप आठ वटा वडामा सेवा सुचारु गर्न कर्मचारी दरबन्दीको काम भइरहेको छ, यसै साताभित्र कर्मचारी नियुक्ति गरेर सेवा शुरु हुनेछ ।”
हेमाटोलोजी एनालाइजर मेसिन महँगो र अत्याधुनिक भएकाले ल्याब टेस्टको नतिजा स्तरीय आउने उहाँको भनाइ छ । अब वडास्तरका स्वास्थ्य इकाइबाटै अत्याधुनिक ल्याब सुविधा प्राप्त हुने भएपछि ल्याब सेवाका लागि अन्यत्रै धाउनुपर्ने स्थानीयबासीको बाध्यता हट्ने भएको छ ।
त्यस्तै, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत नै मेचीनगरका १६ वटा विद्यालयलाई रू ७० लाख, भद्रपुर नगरपालिका चार वटा विद्यालयका लागि रू २० लाख र बुद्धशान्तिका छ वटा विद्यालयलाई रू ३० लाख बजेट प्रदान गरिएको छ ।
ती विद्यालयहरुमा आइटी ल्याब, खानेपानी लगायत भौतिक संरचना निर्माणका लागि कूल रू एक करोड २० लाख उपलब्ध गराइएको स्वकीय सचिव बुढाथोकीले जानकारी दिनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



