
बिर्तामोड, २४ फागुन । झापाको बिर्तामोडमा नगरस्तरीय कोभिड–१९ सम्बन्धी संकट व्यवस्थापन समितिको एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
स्वास्थ्य शाखाको आयोजनामा सोमबार नगरपालिकाको हलमा सञ्चालन भएको कार्यक्रममा कोभिड १९ महामारीको शुरु देखि अहिले सम्मको नगरपालिकाको अवस्थाको बारेमा जानकारी गराइएको थियो ।नगरको स्वास्थ्य शाखाले कोभिड सचेतनाको विषयमा कोभिड बुलेटिन समेत प्रकाशन गरेको छ । बुलेटिनमा कोरोना संक्रमण पछि हुन सक्ने खतरा, कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गरेका गतिविधिहरुको बारेमा उल्लेख गरीएको छ ।

बिर्तामोड नगरपालिकामा हालसम्ममा कोरोनाबाट ज्यान गुमाउने संख्या ६७ रहेको छ । नगरपालिकामा पाँच हजार ८ सय ६७ जना कोरोना संक्रमण मुक्त रहेको र हाल सक्रिय संक्रमितको संख्या २२४ रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्ष्तामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत बिनोद कुमार न्यौपाने,शिक्षा शाखा प्रमुख तिलचन भण्डारी,स्वास्थ्य शाखा प्रमुख राजिव विष्ट,इलाका प्रहरी कार्यालय अनारमनिका प्रमुख सन्तोष आचार्य,जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थिति रहेको थियो । नगरको जनस्वास्थ्य निरिक्षक ओम खड्काले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



