
झापा, २१ असार । तमू गुरुङहरुको दोस्रो अन्तराष्ट्रिय सम्मेलन भारतको सिक्किममा हुने भएको छ ।
तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका निवर्तमान अध्यक्ष एवं संरक्षक समितिका प्रमुख रेशम गुरुङका अनुसार भारतको सिलगढीमा भएको विभिन्न गुरुङ संघ – संगठनहरुको बैठकको निर्णय अनुसार दोस्रो अन्तर्राष्ट्रिय सम्मलेन सिक्किममा गर्ने निर्णय भएको जनाइएको छ ।
बैठकले २०७९ साल असोज २५ र २६ गते अर्थात २०२२ अक्टोबर ११–१२ गते सम्पन्न गर्ने निर्णय गरिएको छ । यस अघि पहिलो अन्तर्राष्ट्रिय तमू सम्मेलन तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको आयोजनामा २०७६ साल असोज २४ र २५ अर्थात सन् २०१९ को अक्टोबर ११ र १२ गते काठमाडौंको राष्ट्रिय सभा गृहमा सम्पन्न भएको थियो ।
उक्त सम्मेलनमा ५५ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तमू संघ – संगठनहरुको सहभागीता रहेको थियो ।
सिक्किममा हुने दोस्रो तमू अन्तराष्ट्रिय सम्मेलनमा तमू समुदायको भाषा, धर्म, संस्कार, संस्कृति, आर्थिक अवस्था, सामाजिक अवस्था, शैक्षिक स्थिति, विकास, पहिचान लगाएतको विषयमा व्यापक छलफल र वहस हुने जनाएको छ ।
सिक्किममा हुने सम्मेलनको अखिल भारतीय गुरुङ तमू बौद्ध संगठनको संयोजकत्वमा र गुरुङ एसोशियशन अफ सिक्किमको आयोजनामा सम्पन्न गरिने निर्णय गरिएको छ । तमू अन्तर्राष्ट्रिय सम्मेलन प्रत्येक ३/३ वर्षमा हुदै आएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


