
रञ्जित राई
त्यो बेला सबैले भन्ने गर्थे: “हेड सर कडा छ” । साचै हाम्रो हेड सर अर्थात मखन बहादुर गुरुङ सर कडै हुनुहुन्थ्यो । हामी बिद्यार्थी हेड सर देखे पछि डरले थुर थुर नहुने कुरै भएन । भरसक उहाँको अघि पर्दै नपर्ने, स्कुल वा बाटोमा झम्का भेट हुँदा नमस्कार ठोकेर हिडि हाल्ने हो, के थाहा उहाँले बाटैमा पो धुलाई गर्नु हुने हो कि! यस्तै यस्तै नाना थरी का सोच हुन्थ्यो त्यो बाल्यकाल र किसोर अवस्थाको समयमा ।
आठ क्लास पास गरे पछि, म स्कुलको अन्य बिबिध गतिबिधिमा सकृय हुन थाले । बिबिध गतिबिधी गर्ने बेलामा कहिले काहीँ अफिस जानु पर्ने हुन्थ्यो । एक चोटि हामी केटाहरु फुटबल किनि माग्न अफिस गयौ, अफिस त गयौ तर हेड सरको अगाडि जान कसैलाई आट भएन । मेरा मित्रहरु युबराज र तोयानाथलाई जाउँ.. म बाहिर बस्छु भनेको तर उनिहरु दुई ले मलाई ठेलेर एकै चोटि हेड सरको अघि पुर्याई दिए । केटाहरु ढोकामा उभिएर हेरिरहेका थिए ।
म भित्र एक्लै थिए, हतपत मैले नमस्कार टक्र्याए । सर पनि छक्क पर्नु भो जस्तो लाग्यो । किन भने त्यो बेला हेड सरको अघि जानु सामान्य चान चुने कुरा थिएन । सरले मलाई सोध्नु भयो: किन आईस? मैले भने ” सर एउटा निबेदन लिएर आको छु ” भने । केको निबेदन हो भनेर उहाँले रिसाउदै सोध्नु भो, मैले हामीलाई एउटा फुटबल किनि दिनु पर्यो सर भनेको मात्र थिए, एक्दम ठूलो स्वर ले उहाँले कराउनु भो, म रातो पिरो भै सकेको थिए, मेरा बाहिर बसेका साथीहरू सायद आफू बचेकोमा खुसी थिए । तर अन्तिममा हेड सरले निबेदन यहाँ राख अनि जा भन्नु भो । तर अब देखि फेरि आईस भने मार्छु तलाई भन्नु भो, म हस सर भनेर निस्के । मार्छु तलाई भन्दा पनि म खुसी हुँदै बाहिर निस्के, किनकी मलाई थाहाँ थियो, उहाँले मलाई केही गर्नु हुन्न । त्यो बेलाको शिक्षाको परिस्थिति अनुसार मलाई उहाँले बाबुले छोरालाई जस्तै टिठयानुमात्र भएको थियो, जुन कुरा मैले पछि मात्र बुझे ।
म लगायत साथीहरु कयौ पटक अफिस गयौ, कहिले स्कुलमा ड्रेस अनिबार्य हुनु पर्ने, अतिरिक्त परिक्षा थप गर्नु पर्ने, लगायत साँस्कृतिक कार्यक्रमको लागि बारम्बर अफिस जानु पर्थ्यो ।
महेन्द्र ज्योती स्कुलमा हाम्रै पाला अर्थात २०५९ \६० साल तिर देखि नै हो अनिबार्य ड्रेस, अनिबार्य ३ ओटा परिक्षा सन्चालन, शिक्षकहरु समयमा क्लासमा आउनको लागि दबाब स्वरुप क्लासमा घडिको ब्यवस्था आदि सुरु भएको । हामी पछि दुर्गा बस्नेत, अनिस न्यौपाने भाईहरुको समुहले नि क्लासमा पंखा झुन्ड्याउने लगायतका अन्य निकै राम्रो राम्रो कामहरु गर्नु भयो ।
यसरी सुरुमा हेडसरको अघि जाँदा जस्तो गाली खानु परेको थियो, त्यस पछि नियमित उहाँको मा जादा गालिको मात्रा झन झन घट्दै गयो ।। पछि पछि त उहाँले कस्तो माया गर्नु भाको, अफिसमा जाँदा किन आयौ रन्जित भन्नु हुन्थ्यो । अहिले यसो सोची हेर्छु, सायद त्यो बेला अहिलेको जस्तो समय थिएन। शिक्षक ले बिद्यार्थी कुट्नु त्यो बेला सामान्य थियो तर त्यही समय मा विद्यार्थीले कहिले काहीँ शिक्षक कुटेको घटना नि सुनिन्थ्यो । सायद यस्तै यस्तै घटना क्रम र परिस्थिति ले नै होला त्यो बेला शिक्षक र विद्यार्थी अनि विद्यार्थी र हेड सरको सम्बन्ध सुमुधुर हुन नसकेको ।
तर साँचै मखन सर अर्थात हाम्रो हेड सर ले पछि हामिलाई औधी माया गर्नु भो । सायद हामी खराब विद्यार्थी होईन भन्ने उहालाई छाप परेछ क्यारे, स्कुलको बिबिध कार्यक्रम हुदा सबै जिम्मा हामीलाई नै दिनु हुन्थ्यो । कार्यक्रम सके पछि हामीलाई भोक प्यास लागेको छ भन्न्ने बुझेर उहाले हामीलाई पर बजारमा गएर तोकबहादुर गुरुङ अन्कलकोमा गएर खाजा खानु, हेड सर ले पठाको भन्नु भनेर भन्नु हुन्थ्यो ।
यसरी कुनै बेला उहाँलाई नजिक बाट नचिने सम्म सारै कडा लाग्ने मलाई तर जब दैनिक रुपमा उहाँलाई चिन्दै गए, उहाँ त साचै अति असल हुनु हुँदो रहेछ । पछि स्कुल संगको सम्बन्ध राम्रो भएकोले त्यो स्कुल बाट बिदा भए पछि पनि उहाहरुले स्कुल संगको कुनै न कुनै सम्पर्कमा रहनको लागि विद्यालय अभिभावक संघमा सदस्यमा नि मलाई राख्नु भयो । उहाँले मलाई धेरै हौसला अनि सल्लाह नि दिनुहुन्थ्यो । जुन आज म सम्झिरहेको छु ।
तर आज बिहानै एउटा दुखत खबर सुन्नु पर्यो कि उहाँ अब यश संसारमा हुनु हुन्न भनेर । एउटा सपना थियो, कि बिदेश बाट फर्किए पछि सबै सर गुरुमा संग भेट्ने, तर अब अन्य सर गुरुमाहरुलाई भेट्दै गर्दा उहाँ त्यहा हुनु हुने छैन, उहाँलाई म देख्न सक्ने छैन अनि उहाँले मलाई देख्नु हुने छैन । किनकि हामी बाट उहाँ बिदा हुनु भएको छ, पार्थिव शरीर आज बाट माटोमा मिलेको छ । जमिन बाट आएको धुलो जमिनमै फर्किएको छ । अन्त्यमा आदरणीय सर प्रती हार्दिक श्रदान्जली, अनि सोकित परिवारप्रती हार्दिक समबेदना !
लेखक : रञ्जित राई
भूतपूर्व विद्यार्थी
(श्री महेन्द्र ज्योति मा. वि . विर्तामोड – १० सैनिक बजार, झापा, हाल दक्षिण कोरिया )
२०८० जेठ २५ विहिबार ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


