
झापाको मध्य भागमा रहेको सुन्दर नगरपालिका कनकाईका प्रमुख प्रशासकीय अधिकृत हुनुहन्छ, मोहनप्रसाद न्यौपाने । जिल्ला प्रशासन कार्यालय इलामबाट सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेर उहाँ कनकाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा आउनुभएको हो । कनकाई नगरपालिकामा विगत ३२ महिनादेखि सेवारत उहाँ एक कुशल प्रशासक हुनुहुन्छ । शारीरिक अस्वस्थताका बाबजुद बिदाका दिनसमेत नागरिकको सेवामा तल्लीन एक कर्मशील राष्ट्रसेवक न्यौपानेसँग झापा अनलाइनका लागि पत्रकार चन्द्र बस्नेतले गर्नुभएको कुराकानीको अंश :
कनकाई आउनु अघि कुन ठाउँमा हुनुहुन्थ्यो ?
म कनकाई आउनु अघि जिल्ला प्रशासन कार्यालय इलाममा सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरिरहेको थिएँ । म कनकाई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत भएको ३२ महिना भयो ।
शुरुमा आउँदा स्थानीय तहबारे धेरै बुझेको थिइनँ । जनप्रतिनिधिसँग मिलेर काम गर्न गाह्रो हुन्छ भन्ने अनुभव भइरहेको थियो । तर, कर्मचारी र जनप्रतिनिधि भनेको एकअर्काको पाटो रहेछौं । एकअर्काबीच समन्वय, सहकार्य र सहअस्तित्व स्वीकार गर्दा काम गर्न समस्या रहेन छ भन्ने मेरो ३२ महिने कार्यानुभवले बुझेको छु । कर्मचारी र जनप्रतिनिधि एउटै ‘बास्केट’मा रहेर छलफल गर्दा जस्तोसुकै समस्या समाधान हुन्छ भन्ने मलाई लागेको छ । मेरो लागि यो ठूलो उपलब्धिको रुपमा रहेको छ ।
जनप्रतिनिधि आउनु अघि र आएपछि स्थानीय तहहरुमा कसरी काम अघि बढिरहेका छन् ?
संघीयतापछिको संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको छ । स्थानीय तहले संघ र प्रदेशजस्तै हरेक वर्ष आफ्नै बजेट, नीति तथा कार्यक्रम ल्याएर आअफ्नो उद्देश्य अनुरुप काम गर्ने गरेका छन् । सोही अनुसार कनकाई नगरपालिकाले पनि छैठौं आर्थिक वर्षको योजना तथा कार्यक्रम बनाउने अन्तिम चरणमा छौं । अब लगभग एक महिना बाँकी छ ।
अगामी आर्थिक वर्ष २०८०–०८१ का लागि योजना छनोट भइरहेका छन् । विशेष गरेर स्थानीय तह निर्वाचनताका जनप्रतिनिधिज्यूहरुले जनता–मतदातासँग गर्नुभएको बाचा, नागरिकका इच्छा, आकांक्षाहरुलाई सम्बोधन गर्ने हाम्रो एउटा दस्तावेज छ । जसले हरके वर्ष जनताका इच्छा आकांक्षालाई सम्बोधन गर्ने काम भइरहेको छ । विधि र प्रक्रियासम्मत रुपमा काम अघि बढिरहेका छन् ।
अस्वस्थ्य भएका बेला र शनिबार बिदाको दिनसमेत कार्यालय आउनु हुन्छ, किन ?
हामी एउटा नागरिकको सेवा प्रवाहमा खटिने राष्ट्रसेवक हौं । राज्यले जहाँ–जहाँ खटाउँछ, त्यहाँका नागरिकले सहज र सुलभ रुपमा सेवा पाउनु पर्छ । नागरिकको अधिकारलाई कहीँकतै कमजोरी नगरी सेवा प्रवाह गर्नुपर्छ ।
स्वास्थ्यमा समस्या आउँछ नै । तर, स्वास्थ्य समस्यालाई सम्बोधन गर्दै नागरिकको सेवा प्रवाहलाई नै पहिलो प्राथमिकता दिनुपर्छ । आफूले नागरिकको सेवा गर्ने कमस खाइसकेपछि नागरिकमैत्री सुशासन कायम गर्नुपर्छ । नागरिकले स्वतः स्फूर्त रुपले सेवा पाउनुपर्छ । म जहाँ काम गर्दा पनि नागरिकहरुको सेवा प्रवाह नै मेरो पहिलो प्राथमिकता हुन्छ । कहीँ कतै कमजोरी पनि हुन सक्छ ।
चालू आर्थिक वर्ष २०७९/०८० को अन्त्यतिर आइसकियो ? के कति काम भएका छन् ?
चालू आवमा छनोट भएका केही कार्यक्रममा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा आएको आर्थिक संकुचन र केही आर्थिक समस्याका कारण पूरा हुन सकेको छैन । संघ र प्रदेशबाट प्राप्त हुने अनुदान नआएपछि बाह्रौं नगर सभाले केही कार्यक्रम र बजेट संशोधन गरेर पूरक बजेटका रुपमा कार्यक्रमहरु ल्याएको छ ।
योजनाको दायित्व अर्को वर्षमा सार्नु भन्दा भएको बजेटलाई सदुयोग गरेर सकेसम्म योजनजाहरु पूरा गर्नुपर्छ । सोही अनुसार नगर र वडाबाट छनोट भएका योजनाको ९० प्रतिशत सम्झौता भएर कार्यान्वयनको अन्तिम चरणमा छ । असार १५ गतेभित्र योजनाहरु कार्य सम्पन्न गरेर फरफारक गर्नुपर्ने छ ।
असार १५ भित्र सबै वडा र नगरका संशोधित योजनाहरु पनि शतप्रतिशत सम्पन्न हुने विश्वास छ । संघ तथा प्रदेशबाट प्राप्त सशर्त अनुदानका योजनाहरु पनि शतप्रतिशत सम्पन्न भएको छ । अपर्याप्त बजेटका कारण केही योजनाबाट पछि हट्नु परेको । छुटेका आगामी बजेटमा सम्बोधन हुने विश्वास छ ।
अनुगमनका क्रममा नगर र वडाबाट भएका कामहरु कतिको मापदण्ड र गुणस्तरीय भएको पाउनुभएको छ ?
काम गर्ने/ गराउने भन्दा पनि त्यो काम गुणस्तरीय हुनुपर्छ । लगत स्टिमेट अनुसार र दीगो टिकाउ हुने काम भए÷नभएको हेर्ने ठूलो पाटो नै अनुगमन हो भन्ने लाग्छ मलाई । ठेक्क प्रक्रिया शुरु भएदेखि काम सम्पन्न नभएसम्म पटक–पटक अनगुगमन गर्ने गरेका छौं । टोल तथा उपभोक्ता समितिलाई अभिमुखीकरण कार्यक्रम गरेर गुणस्तरका विषयमा सचेत गराउने काम भएको छ ।

टोल, वडा र उपभोक्ता समितिलाई तपाईंहरुको आफ्नै घर आँगनको काम भएकाले दीगो, टिकाउ, गुणस्तर र वातावरण मैत्री हुने खालको गर्नु भनेका छौं । काम गर्ने कुरामा कहीँकतै कामजोरी हुनुहुँदैन । सरकारले पनि एउटै ठाउँमा पटक–पटक लगानी गर्न सक्दैन । विकास निरन्तर हुने प्रक्रिया भए पनि एक ठाउँमा एक पटक गर्यो भने अर्को ठाउँमा अर्को पटक गर्नुपर्ने हुन्छ । दिएको विकासलाई लामो समय टिकाउन सक्नेगरी गर्नुपर्छ । भन्दा भन्दै पनि केही ठाउँमा समस्या देखिएका छन् । योजना अनुगमनलाई पूर्ण परिपालन गरेको छौं ।
जनप्रतिनिधि, वडा, टोल र उपभोक्ता समितिबाट कतिको सहयोग पाउनु भएको छ ?
उहाँहरुले पूर्ण सहयोग गर्नुभएको छ । दुई लाख भन्दा मुनीको योजना वडास्तरको अनुगमन समितिबाटै अनुगमन हुने गरेको छ । त्यो भन्दा माथि नगरबाट नगर अनुगमन समितिमार्फत् नगर उपप्रमुखज्यूको संयोजकत्वमा जनप्रतिनिधि र कर्मचारीहरुको टोलीले अनुगमन गर्ने गरिएको छ ।
अन्य पालिकामा प्रमुख प्रशासकीय अधिकृत नटिकिरहेको अवस्थामा कनकाई नगरपालिमा ३२ महिना बिताइरहँदा यहाँका जनप्रतिधि र कर्मचारीबाट कतिको सहयोग पाइरहनुभएको छ ?
स्थानीय तहमा काम गर्ने मेरो पहिलो स्थानीय तह कनकाई नै हो । जहाँ हेर्दा पनि स्थानीय तहमा झमेला छ, काम गर्न अप्ठ्यारो छ, जनप्रतिनिधिहरुको दबाब छ भन्ने जुन सुनेको थिएँ, त्यो मेरो सुनाई एक किसिमले गलत सावित भएको छ ।
नगरप्रमुख, उपप्रमुख लगायतका सम्पूर्ण जनप्रतिनिधिहरुको साथ सहयोग निरन्तर रहेको छ । नगरका सम्पूर्ण राजनीतिक दल, तिनका भातृ संगठन, नागरिक समाज र सबैबाट सहयोग पाएको छु । मेरो काम गराइबाट कहीं कसैले अब्जेक्सन गर्नुभए जस्तो लाग्दैन । सबैले अत्यन्त माया र समर्थन गर्नुभयो । त्यही माया र समर्थनले म लामो समयदेखि यहाँ बसिरहेको छु । सधैं म यहाँ बसिरहँदिन पनि होला । राज्यले जहाँ खटायो त्यहीँ जानुपर्छ । तर, म जहाँ गए पनि यहाँ बिताएको समय मेरा लागि अविस्मरणीय हुनेछ ।
कनकाईमा कार्यरत रहेका सबै कर्मचारी एकताबद्ध भएर काम गरिरहनुभएको छ । कर्मचारीले कानूनी परिधिभित्र रहेर शून्य सहनशीलताका साथ सेवा प्रवाह गरिरहनुभएको छ । कनकाईमा कोही पनि सेवाग्राही लाइनमा बसेर सेवा लिनुपर्ने अवस्था छैन । चालू आर्थिक वर्षदेखि त घरमै बसेर अनलाइन प्रणालीबाट सेवा लिने वातावरण निर्माण गरिएको छ ।
कनकाईमा बेरुजुको अवस्था के छ ? किन आउँछ ?
बेरुजु भनेको कुनै पनि खाइमासी आएको र कुनै अनियमिता भएको रकम होइन । बेरुजु भनेको महालेखा परीक्षकको कार्यालयबाट डोरमुकाम यहाँ पालिकामा आएर हाम्रा सम्पूर्ण कागजातहरुको समपरीक्षण गर्दा चालू तथा पुँजीगत खर्चका केही कागजहरु नपुगेको रकमलाई बेरुजु देखाउँछ ।
दुई खाले बेरुजु हुन्छ । एउटा बेरुजु असुलउपर गर्नुपर्ने, जुन असुल उपर गरेर जम्मा गरेपछि फस्र्यौट हुन्छ । अर्को अपुग कागजात मिलाएर समपरीक्षण गर्दा हट्छ । हामीले सकेसम्म बेरुजु शून्यमा झार्नुपर्छ । विधिसम्म गरेका कामहरु गुणस्तरीय र मापदण्ड अनुसार भए पनि केही कागजात अपुग हुँदा बेरुजु देखिन्छ ।
महालेखाले दिएको निर्देशन अनुसार कागजपत्र पु¥याएपछि क्रमशः बेरुजु घट्दै जान्छ । अन्यत्रको तुलनामा बेरुजु कम भए पनि यसलाई शून्यमा झार्नुपर्छ । हामी त्यसतर्फ सचेत छौं ।
नगरलाई बालमैत्री बनाउने काम कसरी अघि बढिरहेको छ ?
कनकाई नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने अभियानमा हामी लागि परेका छौं । नगरप्रमुखज्यूले यसलाई विशेष प्राथमिकताका रुपमा लिनुभएको छ । चालू आवमा तीन वटा वडालाई बालमैत्री बनाउने र आगामी आवमा सबै वडालाई बालमैत्री बनाउँदै नगरलाई नै बालमैत्री घोषणा गर्ने अभियानमा लागेका छौं । बालमैत्री घोषणाका लागि पूरा गर्नुपर्ने ५३ वटा सूचक पूरा गर्ने काम भइरहेको छ ।
परिवार को–को हुनुहुन्छ ?
हामी अहिलेसम्म साझा परिवारमै छौं । मेरो जन्मघर र अध्ययन गरेको ठाउँ भोजपुरको बोखिम हो । अस्थायी बसोबास दमकमा छ । घरमा आमा, दाजुभाउजु हुनुहुन्छ । नौ जना छोराछोरीमध्ये म माइलो छोरा हुँ । मेरो श्रीमती राष्ट्रिय मानव अधिकार आयोगमा अधिकृत स्तरमा कार्यरत हुनुहुन्छ । एक वटा नौ वर्षको छोरा छ, जुन काठमाडौंमा अध्ययनरत छ । आमा दमकमै हुनुहन्छ ।

परिवारका साथमा प्रमुख प्रशासकीय अधिकृत न्यौपाने ।

अन्त्यमा केही छ ?
म ३२ महिना कनकाईमा रहिरहँदा धेरै विकासका काम भएका छन् । शिक्षा, स्वास्थ्य, पूर्वाधारका क्षेत्रमा काम भएका छन् । नगरप्रमुख ज्यूले नै पटक–पटक भन्दै आउनु भएको छ विगत ३०÷४० वर्षमा नभएका काम नगरमा भएका छन् । नगरले ठूलो उपलिब्ध हासिल गरेको छ । मैले पनि त्यो अनुभव गरेको छु । अबका दिनमा फरक ढंगले विकासलाई अघि लानुपर्ने देखिन्छ ।
अहिलेको आर्थिक मन्दी, वित्तीय अभावलाई हेर्दा आगामी दिनमा उत्पादन, उत्पादकत्व र रोजगारीलाई जोडेर विकासलाई प्राथमिकता दिनुपर्छ । मानव विकासलाई विशेष प्राथमिकता दिनुपर्छ ।
हाम्रो मुलुक कृषि अर्थतन्त्र भएको मुलुक हो भन्ने कुरा हामीले बालबालिका हुँदादेखि नै पढ्दै, सुन्दै आएका छौँ । त्यसैले कनकाई नगरपालिकाले आगामी दिनमा योजना छनोट गर्दा कृषि, स्वास्थ्य, शिक्षालाई सँगै जोडर लानुपर्छ । आत्मनिर्भर मात्र नभएर निर्यातमुखी कृषि गर्नुपर्छ । अयात प्रतिस्थापनमा कनकाईको कृषिले भूमिका खेल्ने बनाउन यहाँ कृषकलाई लागत साझेदारीमा विभिन्न प्रकारका अनुदान दिनुका साथै व्यावसायिक बनाउने योजना ल्याउन आवश्यक छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


