
सामान्य समयभन्दा चाडवाडका बेला विशेष गरी दशैंमा अलि बढी नै खानपिन हुन्छ । त्यसमा पनि चिल्लो, पिरो, गुलियो, अमिलो परिकार खाँदा अपचको समस्या हुन सक्छ । खाएको कुरा नपचेर हैरान हुनुभएको छ भने घरमै यस्ता प्रयास गर्न सक्नुहुन्छ–
— अदुवाको एउटा टुक्रामा केही थोपा कागतीको रस र अलिकति बिरे नुन मिसाएर खाने गर्नुस् ।
— पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस आदि मिसाएर बनाएको ताजा अचार खानासँग खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ।
— मनतातो पानीमा मह र कागतीको रस मिसाई खाली पेटमा खाने गर्नाले अपचको समस्या क्रमशः कम हुँदै जान्छ।
— खाना राम्रोसँग पच्दैन भने खाँदाखेरि धेरै चपाएर खाँदा पाचन राम्रो हुन्छ।
— पाचन बलियो नहुनुको मतलब तपाईंको कलेजो त्यति स्वस्थ छैन। त्यसैले मजिराजन्य पदार्थ छुँदै नछुनुस्। पाचन प्रणालीका लागि यो विषतुल्य हुन्छ। गाँजर, चुकन्दर, सागसब्जी र फलफूलजस्ता कलेजोलाई स्वस्थ बनाउने खाना हरेक दिने खाने बानी बसाल्नुपर्छ।
— पाचनशक्ति कमजोर हुनेहरूको शरीरमा पानीको मात्रा कम हुन्छ। यसले पाचनक्रियालाई समेत असर गर्ने भएकाले पानी प्रशस्त पिउने गर्नुपर्छ।
— बढी तनाव लिनुभयो भने पनि पेट ढुस्स फुल्ने, खाएको नपच्ने आदि हुन्छ। तनावले मन र दिमागलाई मात्र होइन, पाचनलगायत शरीरका समग्र प्रणालीलाई नै असर गरिरहेको हुन्छ। त्यसैले तनाव कम गर्न योग, प्राणायाम, ध्यान आदि गर्ने बानी बसाल्नुपर्छ।
— आयुर्वेद चिकित्सकको सल्लाहमा घ्यूकुमारीको जुस खाने गर्नुहोस्।
— अमला खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



