
झापा, २५ मंसिर । झापाको अर्जुनधारा नगरपालिका–७ स्थित अर्जुनधारा जलेश्वर धाम परिसरमा निर्मिति खडेबाबा स्मृति उद्यानको आइतबार उद्घाटन गरिएको छ ।
भारतको हरिद्वारस्थित पतञ्जली योगपीठका मुख्य निर्देशक आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण महाराजजीले उक्त उद्यानको उद्घाटन गरेका हुन् ।
मुलुकको ‘सय पर्यटकीय गन्तव्य’मा समेत सूचिकृत हुन सफल धाममा गत मंसीर १७ गतेदेखि सञ्चालन भइरहेको ४१औं धार्मिक अनुष्ठानको क्रममा पहिलोपटक धाम दर्शनका लागि आएका उहाँले सोही उद्यानको मध्य भागमा रहेको खडेबाबाको पूर्ण कदको शालिक अनावरण गरेका हुन् । कोशी प्रदेश सरकारको आर्थिक वर्ष ०७९–०८० मा विनियोजित २२ लाख ४२ हजार चार सय ८७ रुपैयाँ बजेटबाट उद्यान निर्माण गरिएको हो ।
खडेबाबा बारे –
धाम व्यवस्थापन समितिका अनुसार विसं. २०२३ सालमा हाल मूल मन्दिर रहेको पश्चिमतर्फको जलाशय किनारमा अवस्थित कैदलको वृक्षमुनी एक जना अपरिचित व्यक्ति साधुको भेषमा तपस्या गर्न आएका थिए । मौनव्रत धारण गरेका र सूर्यका उपासक उनले आफ्नो दाहिने हात सूर्यलाई चढाएका कारण सधैं खडा गर्ने उनको विषयमा तत्कालिन् जनप्रतिनिधि र स्थानीयहरुले सोधखोज गरेका थिए ।
पाँच दिनको तपस्यापछि सो क्षेत्रमा भगवान शिवको वास रहेको र अर्जुनले विराट राजाका गौहरुलाई पानी पिलाउनका लागि पज्र्यन्यास्त्रद्वारा वाणगंगा प्रकट गराएको हुनाले तत्काल शिवालय स्थापना र पूजाअर्चनासँगै गंगाजीको संरक्षण गर्न लिखित सन्देश छाडी उनी आफू भने अन्तरध्यान भएको भनाइ रहेको पाइन्छ ।


