
काठमाण्डौ, ६ पुस । नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनले झापा एफसीलाई हराउँदै सान्त्वना जित निकालेको छ ।
आज शुक्रवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा चितवनले झापालाई २–० गोलले हरायो । चितवनको जितमा रफिक अमिनुले नै २ गोल गरे । यो हारसँगै झापाको प्लेअफ सम्भावना अन्य टोलीको नतिजामा निर्भर रहने छ ।
यो जितसँगै चितवन ८ खेलमा ९ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । झापा ८ खेलमा १० अङ्कसहित तालिकाको चौथो स्थानमा छ । चितवनको प्लेअफ खेल्ने सम्भावना यसअघि नै सकिसकेको थियो ।
भोलि शनिवार लिग चरणको अन्तिम खेलमा वीरगञ्ज युनाइटेड एफसी र एफसी बुटवल लुम्बिनी तथा काठमाण्डौ रेजर्स एफसी र ललितपुर सिटी एफसीबीच खेल हुने छ । यी खेलमा वीरगञ्ज र काठमाण्डौ हारेको अवस्थामा झापाको प्लेअफ खेल्ने सम्भावना रहने छ ।


