
कनकाई, ७ पुस । झापाको कनकाई नगरपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण शिविर आजदेखि शुरु भएको छ ।
विगतझैं नगरपालिकाले आजदेखि तीन दिने शिविर शुरु गरेको हो । शिविरमा नगरभित्रका सामुदायिक कुकुर समातेर ल्याउने र बन्ध्याकरणसँगै रेबिजविरुद्धको खोप र आवश्यकता अनुसार अन्य औषधोउपचार गरेर छोडिने पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख तेजबहादुर पौडेलले जानकारी दिनुभयो ।
नेपाल एग्री लाइभस्टक ट्रेनिङ एन्ड रिसर्च सेन्टर इटहरी, सुनसरीको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा यो पटक दुई सय वटा भन्दा बढी कुकुरको बन्ध्याकरण गरिने कनकाईका भेट्नरी अधिकृत कुलबहादुर गुरुङले बताउनुभयो ।
शिविर उद्घाटन गर्दै कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाईमा हरेक वर्ष शिविर सञ्चालन गर्दै आए पनि कुकुर आतंक बढेको बताउनुभयो । नगर सामुदायिक कुकुरले बाहिर बाँधेका बाख्राका पाठा, गाईलाइ टोक्ने, मानिसलाई नै आक्रमण गर्ने गरेको र उनीहरुबाट रेबिजसमेत सर्ने भएकोले समस्या समाधानका लागि शिविर प्रभावकारी हुने उहाँले उल्लेख गर्नुभयो । शिविरमा ४ जना डाक्टरसहित १६ जनाको टिम खटिएको छ ।
शिविरको कनकाई वडा नं. ३ स्थित कनकाई सामुदायिक वन परिसरमा एक संक्षिप्त कार्यक्रमका बीच नगर प्रमुख पोख्रेल, उपप्रमुख आशा शर्मा शिवाकोटी, पशुपंक्षी तथा मत्स्य विकास शाखा कनकाईका प्रमुख तेजबहादु पौडेल, भेट्नरी अधिकृत कुलवहादुर गुरुङ, वडा नम्बर २, ३ र ४ का वडाअध्यक्षहरु क्रमशः प्रताप राई, युवराज चौलागाईं, रोषन सुवेदी, कार्यपालिका सदस्य, वडा सदस्य लगायतले शिविरको उद्घाटन गर्नुभएको थियो । शिविर पुस ९ गतेसम्म सञ्चालन हुने कर्मचारी विजय पाठकले जानकारी दिनुभयो ।


