द्रोण अधिकारी (गुयेली)
काव्य सिर्जना सामान्य विषय होइन । सर्जक भित्र विचित्र सिर्जनशीलता नभइ स्तरीय सिर्जना जनमन सक्दैन । फुटकर कविता रचनामा चार दशक पार गरिसकेका कवि राजेश ढुंगानाले पुस्तकार रूपमा जम्मा दुइ वटा पुस्तक एउटै नाम दिएर प्रकाशन गरिसकेका छन् । सिर्जजनशीलतामा विचित्रता रहन सक्छ भन्ने कुरा कवि ढुंगानाले आफ्ना फुटकर कविता मार्फत पुष्टि गरेका छन् । सडक कविता क्रान्तिकाल वि सं २०३६सालदेखि विद्रोह बोकेर कविता रचना गरिरहेका ढुंगाना कविता लेखनको ४५ वर्षे यौवन पार गर्दा समेत निरन्तर विद्रोहका भाव ओकलिरहेका छन् ।
झापा भद्रपुर ८ निवासी कवि ढुंगाना कविता लेख्नकै लागि जन्मिएका व्यक्ति हुन् जस्तो भान उनका कविताहरूले दिलाउँछन् । झापाको भद्रपुरमा २०१९ मा जन्मिएका कवि ढुंगाना सिर्जनशीलतामा कोमल हृदय भएका विकृति बिरूद्ध प्रहार गर्ने शसक्त सर्जक हुन् । प्रजातन्त्रका लागि कठोर आवाज विद्रोह स्वरूप ओकल्ने कवि ढुंगानाको मन भने निरन्तर सिर्जनशील छ भन्ने कुरा २०७० साल बैशाख ५ मा पहिलो पटक र २०८० बैशाख ६ गते दोश्रो पटक प्रकाशित भएको सुकिला मान्छेको सामूहिक मृत्यु कविता संग्रहले प्रमाणित गर्छ । यस संग्रहका कविताले कवि ढुंगानालार्ई मानवतावादी सर्जकका रूपमा उभ्याइ दिएको छ । उनका कविताले राष्ट्रप्रति निस्वार्थ प्रेम, जीवन जगतमा मान्छेको भूमिका, स्वतन्त्रता, विकृति विसंगतिप्रति प्रहार, आजको राजनीतिमाथि अविश्वास तथा आशावादी जीवन दृष्टिलाई कलात्मक रूपमा वर्णन गर्न सफल छन् ।
![advt](http://jhapaonline.com/wp-content/uploads/2024/06/Jana-ad-2-copy.jpg)
कविका अधिकाम्स कविताले मान्छेकै बेलिबिस्तार गरे जस्तो लागे पनि देश र शासकीय स्वरूपको चिरफारको प्रयास पनि गरेका छन् भने समय अनुसारको आवाज र राजनीतिको अन्धोपना बीचको द्वन्द्व पनि प्रष्ट्याउने इच्छा राखेको पाइन्छ । उनका लामा छोटा गरी ५५ वटा कविताले मूल रूपमा मान्छेलाई उभ्याएका भए पनि मान्छेसित जोडिएको राजनीति, प्रेम, शासन शैली जस्ता पक्षलाई मूल भाव बनाएका कविताहरू कुनै न कुनै रूपमा राष्ट्रवादी भावना बन्न सफल देखिन्छन् । मान्छेलाई अगाडि सारेर रचना गरिएका ढुंगानाका कविता मुलायम गुलाफको फूल वरिपरि कठोर काँडाले पहरेदार गरे जस्तै मानवता र देश प्रेमका लागि प्रतिविम्वित देखिन्छन् ।
यस संग्रहमा कवि ढुंगानाले लामा छोटा समेत ५५ वटा कविता संकलन गरेका छन् । विभिन्न कालखण्डमा साहित्यिक तथा समचारपत्रका साहित्य अंकमा प्रकाशित भइसकेका अधिकाम्स यी कविताहरूले नेपाली मन र नेपालीपनका लागि गाँसिएका अक्षरहरू जोडेर देश, समाज र मानवताको अस्तित्वबोध मूल भावना बनाउने प्रयास गरेका छन् । संख्यात्मक आयमभन्दा गुणात्मक आयम बलवान देखिएको कविता संग्रहले सरल शब्दभित्र प्रभावकारी बिम्व र उत्कृष्ट काव्य शिल्प प्रयोग गरेको देखिन्छ । मान्छे उन्मुक्त स्वतन्त्रता प्रेमी भएको जिकिर गर्ने कवि ढुंगानाले मान्छे भित्र लुकेका अहम र विकृति बिरूद्ध भने खरो प्रहार समेत गरेका छन् । मेरा लागि कविता सेक्स हो ।
सेक्सलाई घृणित अर्थमा बुझ्नेहरूलाई मेरो भन्नु केही छैन भन्ने विचार पोख्ने राजेशका कवितालाई शीर्षकगत रूपमा उभिएर केही नमूना स्वरूप हेरौं—पहिलो शीर्षकमा रहेको मान्छे कविताले खच्कदो मानवता र बढ्दो अहमको अवस्थालाई मूल निशाना बनाउन खोजेको छ । उनका केही शब्द हेरौं — मान्छेको आफ्नै आकाशछ,…. आफ्नै धरती छ । यी दुई श्लोकले नै वर्तमान मानवताको दुर्वतामाथिको वास्तविक चित्र कोर्न सफल छन् भने समग्र कविताले मानवतावादको प्रतिनिधित्व सहजै गरेको अनुमान गर्न सकिन्छ ।
कवि ढुंगानाले जीवन र जगतलाई सम्झने क्रममा आक्रोस र विद्रोहलाई कवितामा सुन्दर भावका साथ समेटेका छन् । देश र शासक बीचमा नमिलेको तालमेल नै यस कविताको मूल विद्रोह हो भने शासक असल मान्छे नबन्दा मानव जीवन र जगत अन्धकारतिर गइरहेको कविताको ठहर हो । उनको मेरो वर्तमान शीर्षकमा रहेको कविताको केही शब्द सापटी लिदैं हेरौं —अहिले पनि मेरो वर्तमानको बस्तीमा रात परेको छ, हरेक पल वर्तमानको ऐनामा मेरो देश विरूप र वीभत्स रूपमा छर्लङ्गै देखिनेगरी मुर्दाघाटको लावारिस लासझैं डङ्रङ्गै लडेको छ । कवितामा चित्रण गरेको नेपाल देश खलनायकको पञ्जामा रहँदा नेपाली नागरिक कष्ट तथा कठिन परिस्थितिमा छन् । हरेक मानिसको जीवन भन्ने वित्तिकै उर्वर र रमाइलो प्रकृतिकको उपहार हुनु पर्नेमा उर्वर जिन्दगीमा कुशासनसित जुधेर बाच्नु पर्ने बाध्यता सचेत नागरिकका लागि सहन नसकिने आवाज छोडेका छन् । उनका कविताले सुशासनयुक्त नेपाल होस् भनेर कल्पना गर्न खोजेको पाइन्छ । विशेषगरी नेतृत्वमा भ्रष्ट आचरण लुकेकैका कारण नेपाल देश विकास हुन नसकेकोप्रति आक्रोस पोखेका कविले नेपाली भूमिको महिमा गान भने गरेका छन् ।
देश र जनता शीर्षकको कवितामा कवि ढुंगानाले नेपालको महिमा गान गर्दै स्वर्गसित जोडेर जन्म भूमिको माया व्यक्त गरेका छन् । उनले देशको विकास गर्न नेपालीले नेपालको मायाँ रममता नभुली अगाडि बढ्न गर्न आग्रह गरेका छन् । यसका लागि कविले राष्ट्रवादी भाव बनाएर नागरिक स्वतन्त्र हुने र देश निर्धक्क चल्ले वातावरणको अपेक्षा पोखेका छन् । यस कविताले मान्छेलाई असल हुन जागरण पैदा गराएको छ । स्वार्थ र लोभमा पर्ने मानिसहरुलाई व्यङ्ग्य गर्दै मानवताका लागि देश र जनाताको सोझो सम्बन्ध चाहेका कविले कवितामा असल मान्छेको परिकल्पनामा जनताका रूपमा गरेका छन् । उनका कविताका केही शब्दहरू हेरौं — देश सधैं यसरी नै टोलाएर बस्नु हुन्न, उसका आकाङ्क्षाहरू मृत्युशैयाबाट पुनः एकपटक बौरनै पर्छ । जनता अझै पनि निरन्तर जुलुसहरूमा साटिँदै आफैलाई जोकर बनाएर केवल चाच्न र नाचिरहन सक्दैनन् । कविताका दुई टुक्राले भिन्न भिन्न अर्थ बोकेका भए पनि पराधीनतासित लडेर स्वाधीन देश र जनता भएको नेपालको परिकल्पना यसको मूल आसय प्रष्ट देखिन्छ ।
कवि ढुंगानाको दोश्रो प्रकाशनका रूपमा आएको यस कविता संग्रहले अब्वल रचना समेटेर संग्रहित कृति बन्न सफल छ । यस कृतिका ५५ वटा कविताले देश र जनता शासकका कारण प्रताडित भएको सत्यलाई कुनै न कुनै रूपमा प्रस्तुत गरेका छन् । जहाँ निराशा चिरेर आशावादी सोच भने विद्रोहका रूपमा कवितामा भाव बनिएको सत्य बिर्सनु हुँदैन । प्रेम, जीवनको उकालीओराली, शासकका गतिहीन शासकीय शैली, जनताका विद्रोही भावना, विगत र वर्तमानसित जोडिएका पहिचानका इतिहास जस्ता विषय पनि कविता संग्रहमा कुनै न कुनै रूपमा प्रस्तुत भएका छन् ।
कविको यस कृतिमा समेटिएको आधुनिक ताजमहल शीर्षकको अन्तिम कविताका केही शब्दहरू हेरौं— एउटा त्यस्तो बस्ती जो सन्सारमा आजसम्म छैन नामले-कमले नितान्त नौलो मान्छेहरू त हुनेछन् तर, हल्ला हुनेछैन जीवन मात्र हुनेछ मृत्युलाई प्रवेश दिइने छैन फूलैफूल फुल्नेछ तर, फूलले ओइलाउन पाउने छैन ।
यस कविताम्सले भने जस्तो प्रेमील बस्ती सन्सारमा कही कतै भेटिदैन । यसको आसय जीवन र जगत प्रतिको आशावादी मानव विश्वास हो । मान्छे भएर जन्मिएपछि निराशाको भारी बोकेर बाँच्नु हुदैन । सवैले सवैसित असल मित्रता गर्ने हो भने सन्सार विध्वम्सको चक्रमा पर्दैन । यसका लागि देश चाहिन्छ । समाजको सामूहिक स्वरूप देश हो । यिनै समाजमा असल मानव बस्ती भए फूलै फूलले सजिएको राष्ट्र रहने आधार खडा हुन्छ भन्ने आशावादी स्वर माथिको कविताम्सले पोखेको मूल भाव हो ।
निष्कर्षमा भन्नु पर्दा राजेश ढुंगानाका कविता मानवता केन्द्रीत छन् । छोटा छरिता आयममा संरचित यी कविता नेपाली मौलिकता बोकेर आएका छन् । मानवता बोकेर आएका यी कविताले अमानवीय प्रवृत्ति बिरूद्ध पाठकलाई आन्दोलित गराउन सक्ने सामथ्र्य पभलेका छन् । हरेक कविताले मान्छेको अस्तित्वदेखि जागरण र पीडासम्म समेटेर तयार भएका छन् । उनका कवितामा कुनै न कुनै रूपमा मानवता समेटिएको छ । मान्छेका खराव आचरण बिरूद्ध आक्रोस पोखिएको छ भने समय अनुकुल नरहेको प्रवृत्तिमाथि बिद्रोह समेत बोलिएको छ । अस्तित्ववोधका लागि मान्छेमाथि धावा बोल्दै कवि ढुंगानाले मानिस, मन, देश र स्वतन्त्रतालाई अधिकाम्स कविताको मूल भाव बनाउन सफल छन् । स्वतन्त्रता युगको माग हो भने देश मानिसको परिचय हो भन्ने भाव राजेशका कवितासित मिसिएर आएको पाइन्छ । थोरै शब्दको सहायतामा आजको मान्छेको प्रवृत्ति र यथार्थलाई शब्द चित्र बनाएर आएका उनका हरेक कविता अस्तित्वको विविध स्वरूपलाई सरल रूपमा पस्कन सफल छन् । ढुंगानाको दोस्रो संस्करणका रूपमा प्रकाशित यस कृतिले नेपाली फुटकर कविताको इतिहासमा एउटा कोशेढुंगो बन्न सफल छ । सामान्य बोचीचालीको भाषालाई टिपेर काव्यको स्वरूप दिन सफल ढुंगानाको सिर्जनशीलता भने विशिष्ट बन्न सफल देखिन्छ ।
(भद्रपुर १० झापा)
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।