गोपाल काफ्ले
प्रधान सम्पादक साझामञ्च डटकम
आज अंग्रेजी वर्ष सन् २०२४ को पहिलो दिन अर्थात् जनवरी १ तारिक । सन् २०१४ जनवरी १ तारिकमा साझामञ्च डटकम औपचारिकरुपमा सार्वजनिक गरेको दिन थियो । सोभन्दा करिब ६ महिना अघिदेखि समाचार अपलोड गर्ने सीप सिक्नका लागि अनौपचारिक रुपमा न्यूजपोर्टल सञ्चालनमा थियो । सम्भवतः तत्कालीन पूर्वाञ्चल विकास क्षेत्रमा नै पहिलो न्यूजपोर्टल, साझामञ्च डटकम जुन आजसम्म अनवरत र निरन्तर सञ्चालनमा छ । र, आजदेखि सञ्चालनको एक दशक पूरागरी ११औं वर्ष प्रवेश गरेको छ । यो सुखद दिनमा साझामञ्च डटकमको मातृ संस्था साझामञ्च मिडिया प्रालिका सञ्चालकहरु, सम्पूर्ण पाठक, दर्शक, विज्ञापनदाता एवम् शुभेच्छुक, शुभचिन्तक, समाचारदाता पत्रकार मित्रहरु र कर्मचारी वर्गमा हार्दिक आभारसहित कृतज्ञता ज्ञापन गर्दछु ।
पछिल्ला वर्षहरुमा अनलाइन न्यूजपोर्टल सञ्चालनको लहर नै चलेको छ । यतिसम्म कि पत्रपत्रिका, रेडियो र टेलिभिजनजस्ता फरक अस्तित्वका सञ्चार माध्यमहरुले पनि न्यूमिडियाको सहारा लिएर न्यूजपोर्टल सञ्चालन गरिरहनु परेको छ । न्यूजपोर्टलमा समाचार अपलोड गर्न समयको पावन्दी नहुने, जुनसुकै समयमा पनि अपलोड गर्न मिल्ने, फोटो–भिडियो र लेख रचनाहरु राख्न स्पेशको अभाव नहुने, जुनसुकै स्थानमा बसेर पनि समाचार अपलोड गर्न सकिनेजस्ता विशेषताहरु हुन्छन् । पाठक–स्रोता–दर्शकहरुले पनि आफ्नो एन्ड्रोइड मोवाइल, प्याड, ल्यापटप, कम्प्युटर आदिबाट छिनछिनमा नयाँ नयाँ समाचारहरु हेर्न सुन्न पढ्न पाइरहनु भएको हुन्छ । यस मानेमा आजको मितिमा न्यूजपोर्टल सबैभन्दा महत्वपूर्ण सञ्चार माध्यम हो भन्न आइतबार कुर्न पर्दैन ।
नेपाल सरकार सूचना तथा प्रविधि मन्त्रालय अन्तरगत सूचना विभागमा दर्ता भएर नियमित नविकरण गरिएका एवम् प्रेस काउन्सिल नेपालबाट सूचिकृत प्रमाणपत्र लिई नियमित अद्यावधिक गरिएका अनलाइन न्यूजपोर्टलहरु वैधानिक सञ्चार माध्यम हुन् । तर राज्यको तर्फबाट यिनलाई सास्तीबाहेक केही दिइएको छैन । लोक कल्याणकारी विज्ञापनका नाममा सरकारले दिने सुविधा तिनै पत्रपत्रिका, रेडियो र टेलिभिजनमा सिमित गरिएको छ । अनलाइन न्यूजपोर्टललाई हेर्ने दृष्टिकोण कुनै सरकारको पालामा फेरिएको छैन । ब्यवहारिकरुपमा न्यूजपोर्टल सञ्चालकहरुले धेरै कठिनाइहरुको सामना गरिरहनु परेको भए पनि आफ्नो पेसा र व्यवसायलाई जीवन्त राख्न यसका सञ्चालकहरु निरन्तर सक्रिय छन् । छिटो छरितो सूचना प्रवाहमा अग्रणि भएकै कारण अनलाइन न्यूजपोर्टल सञ्चालक एवम् रिपोर्टरहरु सन्तुष्ट हुनुपर्ने अवस्था छ ।
यसै शैलीमा साझामञ्च डटकमले पनि एक दशकको यात्रा पूरा गरेको हो । हाम्रो उद्देश्य हतारमा समाचार अपलोड गरेर पछि पछुताउनुको सट्टा बरु बिस्तारै तथ्य प्रमाणहरु जुटाएर अपलोड गर्नु हो । यसैले सबै समाचारहरु छिटो अपलोड भएको नपाउन पनि सक्नुहुन्छ । तर आज दशौं वर्ष पूरा गर्दासम्म हामीले प्रेस कानून र पत्रकार आचारसंहिताको उल्लंघन नगरी काम गरेका छौं । भविष्यमा पनि यसलाई मन्त्रका रुपमा लिने विश्वास दिलाउँछौं ।
अन्त्यमा, साझामञ्च डटकमलाई आजसम्म जो जसले जसरी माया गरिरहनु भएको छ, यसलाई अझ गहकिलो बनाइदिन सबैमा विनम्र आग्रह गर्दछु । हाम्रो टिमले तपाईंको आवश्यकताका खुराकहरु निरन्तर पस्किरहने प्रण पनि गर्दछु । धन्यवाद ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।