
भद्रपुर, १३ माघ । झापामा स्थायी बन्ध्याकरण गराउनेमध्ये ९५ प्रतिशत महिला रहेका छन् ।
जिल्लामा स्थायी बन्ध्याकरण गराउनेको महिलाको तुलनामा पुरुषको संख्या न्यून रहेको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिनुभयो । हालै झापाको हल्दिबारी र कचनकवल गाउँपालिकामा गरिएको बन्ध्याकरण शिविरमा ३८ जना महिलाले मिनिल्याप र दुई जना पुरुषले भ्याक्सोटोमी गराएको उहाँले बताउनुभयो । प्रतिशतको आधारमा हेर्ने हो भने पुरुषको तुलनामा महिलाको हिस्सा ९५ प्रतिशत देखिन्छ ।
हल्दिबारीमा ८ जना महिला, दुई जना पुरुष र कचनकवलमा ३२ जना महिलाले स्थायी बन्ध्याकरण गराएका हुन् । गत आर्थिक वर्ष २०७९÷०८० मा जिल्लामा १५९ जनाले स्थानयी बन्ध्याकरण गराएका थिए । जसमा महिलाको संख्या एक सय ५६ जना थियो भने पुरुष तीन जना मात्र रहेको कार्यालयको तथ्यांक छ ।
स्वास्थ्य कार्यालय झापाले मागको आधारमा जिल्लाका विभिन्न स्थानमा स्थायी बन्ध्याकरण शिविर सञ्चालन गर्दै आएको छ । गत वर्ष हल्दिबारी, बनियानी, गौरीगञ्ज, राजगढ, पाँचगाछी र कुमरखोदमा शिविर चलाइएको थियो भने यस पटक पनि सोही स्थानमा शिविर सञ्चालन हुँदैछ ।
“जिल्लाका ग्रामीण क्षेत्रमा शिविरको माग बढी छ”, जनस्वास्थ्य निरीक्षक श्रेष्ठले भन्नुभयो, “अधिकांश विपन्न, आदिबासी, मधेशी मूलका मानिसहरुले सेवा लिने गरेका छन् ।” जिल्लाका सहरी क्षेत्रमा माग नै नहुने गरेको उहाँको भनाइ छ ।
जिल्लामा चालू आवमा स्थायी बन्ध्याकरण शिविरका लागि रू १० लाख ७१ हजार बजेट प्राप्त भएको छ । शिविरमा सेवा लिन आउनेहरुलाई रू तीन सय खाजा खर्च उपलब्ध गराउने गरिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


