
सन्तोष शर्मा
झापा, ६ चैत । निर्यातजन्य वस्तुको मुख्य हिस्सा बन्दै गएको भेनियर उद्योग संकटमा परेको भन्दै भेनियर उत्पादक संघले सरकार समक्ष तीन बुँदे माग राखेको छ ।
जिल्ला प्रशासन कार्यालय झापामार्फत् आज प्रधानमन्त्रीलाई संघले तीन बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र बुझाएसँगै संघले आज मेचीनगरमा पत्रकार सम्मेलनको आयोजना गरी भेनियर उद्योग संकटमा परेकाले उचित मागसहित प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको जनाएको छ ।
संघका अध्यक्ष दिपक पाण्डेले दिन प्रतिदिन व्यवसायी पलाउनको अवस्था सिर्जना भइरहेको अवस्थामा निकासी कर बढाएर २० रुपैयाँ बनाउन प्लाइउड उद्योगीले लभिङ गर्नु दुःखद् भएको बताउनुभयो । उहाँले यो विषयलाई भेनियर व्यवसायीमाथि आक्रमणको रुपमा हेरिएको उल्लेख गर्नुभयो ।

व्यवसायी पलाउन रोक्न र निर्यात घाटालाई पूर्ति गर्दै आएको भेनियरको संरक्षण सरकारको ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो । भेनियर उत्पादकले कोर भेनियर (भेनियर पाता) को भारत निकासी दररेट प्रति केजी ६ बाट घटाएर ३ रुपैयाँ कायम गर्न, स्वदेशका प्लाइउड उद्योगमा खपत हुन नसक्ने भएकाले भेनियरको भारतमा मात्र नभएर तेस्रो मुलुकसम्मै निकासी हुने वातावरण निर्माणका लागि पहल गर्न र प्लाइउड उद्योगको उत्पादनलाई निर्यातमा उल्टै ६ प्रतिशत अनुदान दिनुपर्ने नेपाल सरकारको नीतिका कारण ठूलो मात्रामा राजश्व गुमिरहेको यथार्थलाई दृष्टिगत गरी राजस्वको स्रोत बलियो बनाउन भेनियर उद्योगद्वारा उत्पादित कोर मेनियर सिधै र नियमित निर्यात भइरहने नीति निर्माणमा विशेष ध्यान माग गरेको छ ।
मगको सम्बन्धमा भेनियर उत्पादक संघले मेची उद्योग वाणिज्य संघ, बिर्तामोड उद्योग बाणिज्य संघ, नेपाल उद्योग बाणिज्य महासंघ, उद्योग, वन तथा वातावरण मन्त्रालय, मुख्य मन्त्रीको कार्यालय कोशी प्रदेश, अर्थ मन्त्रालयलाई समेत बोधार्थ दिएको छ ।
पत्रकार सम्मेलनमा विगत केही दिनयता प्लाइउड उद्योगीले भेनियर उद्योगलाई धरासायी बनाउने गतिविधि गरिरहेको भन्दै त्यसको विरोध गरिएको छ । भेनियर उद्योगीलाई प्लाइउण्ड उद्योगीले धरासायी बनाउने योजना अनुरुप लागेको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रप्रसाद खड्काले आरोप लगाउनु भयो ।
उहाँले सरकारले कार्यदल बनाएर अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो । “अहिले व्यवसायीलाई व्यवसायीले सक्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “यो समस्यालाई समाधान गर्न सरकारले कार्यदल गठन गरेर अध्ययन गर्न आवश्यक छ ।”
संघका अध्यक्ष दीपक पाण्डेले प्लाइउड उद्योगीले आफूलाई चाहिने भेनियर आफैँ उत्पादन गरिरहेको बताउँदै रहर नभई बाध्यताले भारत निकासी गर्नुपरेको बताउनुभयो । उहाँले उचित मूल्यमा प्लाइउड उद्योगले आफ्नो उत्पादन किने आफूहरुले निकासी गर्नुपर्ने अवस्था नै नआउने उहाँको भनाइ छ । “नेपालमा उत्पादित २० देखि २५ प्रतिशत मात्र भेनियर आन्तरिक खपत भइरहेको छ”, उहाँले भन्नुभयो, “बाँकी भेनियर निकासी गरिरहेका छौं ।”
संघका बरिष्ठ उपाध्यक्ष श्यामप्रसाद न्यौपानेले देशभर रहेका १५० वटा भेनियर उद्योगमा करिब रू चार अर्ब ५० करोड लगानी रहेको र सो लगानी संकटमा परेको बताउनुभयो । भेनियरले वार्षिक रू एक अर्ब पाँच करोड कर तिर्ने गरेको उहाँको भनाइ छ ।
संघका महासचिव दिनेश शाक्यले प्लाइउड उद्योगको मनोमानीका कारण बाध्य भएर भेनियर भारत निकासी गर्नु परेको उल्लेख गर्दै भन्नुभयो, “कहिले कमसल भनेर पैसा घटाएर दिन्छ त कहिले भुक्तानी महिनौंसम्म झुलाइदिन्छ ।”
देशभरका भेनियर उद्योगमा ८० हजार भन्दा बढीले रोजगारी पाएको उहाँले बताउनुभयो । दैनिक ३० गाडी भेनियर भारत निकासी हुने गरेको बताउँदै उहाँले भन्नुभयो, “दैनिक दुई करोड रुपैयाँ विदेशी मुद्रा आर्जन भइरहेको छ भने दैनिक ४५ लाख रुपैयाँ सरकारले निकासी वापत कर प्राप्त गरिरहेको छ ।”
पत्रकार सम्मेलनमा वन पैदावार संघ इलामका अध्यक्ष रोहित खड्काले तीन महिनामै कुहिएर जाने कमसल प्रजातिका उत्तीस, मलातो, मौवा, कदम, पिठारी लगायत काठ भेनियर उत्पादनमा प्रयोग हुने बताउनुभयो । उहाँले इलामबाट मात्र बार्षिक रू २३ करोड निकासी कर बुझाउने गरिएको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा मेची उद्योग बाणिज्य संघका अध्यक्ष ख्यामराज प्रसाईं, स.घका सचिव सञ्जिव बर्मा, संघका कोषाध्यक्ष सुरेश अग्रवाल लगायतकाको उपस्थिति रहेको थियो ।


