
सन्तोष शर्मा
झापा, ३१ बैशाख । झापामा आठ लाख मानिसले हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन गरेका छन् ।
गत बैशाख १६ गतेदेखि ३० गतेसम्म भएको आम औषधि सेवन अभियान जिल्लाका १५ पालिकाका ७९.४५ प्रतिशत अर्र्थात् आठ लाख चार हजार सात सय ३७ जनाले औषधि सेवन गरेको स्वास्थ्य कार्यालय झापाका नित्ति प्रमुख रमेश बाराकोटीले जानकारी दिनुभयो ।

जिल्लामा भएको १५ दिने अभियानमा आठ पालिकामा मात्र लक्ष्य अनुरुप औषधि सेवन भएको छ भने सात वटा पालिकामा अभियानमा असफल देखिएको उहाँले बताउनुभयो ।

जिल्लामा बिर्तामोडमा सबैभन्दा धेरै शतप्रतिशत अर्थात् एक लाख २० हजार चार सय ४८ जनाले औषधि सेवन गरेका छन् भने सबैभन्दा न्यून भद्रपुर नगरपालिकामा ४५.७४ प्रतिशत ३२ हजार पाँच सय ४८ जनाले औषधि सेवन गरेका छन् ।
हात्तीपाइले रोगविरुद्धको अभियान सफल बनाउन ८० प्रतिशत भन्दा बढी औषधि सेवन दर आवश्यक रहेकोमा बिर्तामोडले १००.१२ प्रतिशत, मेचीनगरमा ८१.१२, बुद्धशान्तिमा ९१, कनकाईमा ८५.१३, शिवसताक्षीमा ८८.२६, गौरीगञ्जमा ८६.५९, बाह्रदशीमा ८६.६२, कचनकवलमा ८६.६३ प्रतिशतले औषधि सेवन गरेको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै, लक्ष्य हासिल गर्न नसक्ने सात पालिकामा अर्जुनधारामा ७४.४४ प्रतिशत, कमलमा ७१.३९, दमकमा ७२.९५, गौरादहमा ६६.९२, झापा गाउँपालिकामा ७६.६८, हल्दिबारीमा ७१.९७ र भद्रपुरमा ४५.७४ रहेको छ ।
हात्तीपाइले रोगविरुद्धको औषधि सेवन दर ८० प्रतिशत भन्दा कम रहेको स्थानमा १० दिन थप गरिएको जनस्वास्थ्य अधिकृत श्रेष्ठले बताउनुभयो ।
‘एक पटक खाऔं, यो वर्ष अन्तिम बनाऔ’ भन्ने नाराका साथ झापामा बैशाख १६ गतेदेखि ३० गतेसम्म १३ औं चरणको हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सञ्चालन भएको थियो । नौ लाख ६२ हजार आठ सय ६१ जनालाई औषधि सेवन गराउने लक्ष्य लिइए पनि आठ लाख चार हजार ७३७ जनाले मात्र औषधि सेवन गरेका छन् ।

जिल्लामा औषधि सेवनका लागि छ सय छ जना स्वास्थ्य स्वयम्सेविका र सात सय ५० जना स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । हात्तीपाइले रोग रगतमा बस्ने बिचेरिया ब्रानकोफ्री नामक परजीवीबाट लाग्ने गर्छ भने लामखुट्टेको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



