
झापा, ३१ जेठ । कुवेतको एक श्रमिक क्याम्पमा भएको आगलागीमा परेर तीन जना नेपाली सामान्य घाइते भएका छन् । महंगाफास्थित एक आप्रवासी श्रमिक बसोबास गर्दै आएको क्याम्पमा बुधबार बिहान आगलागी हुँदा ४० जनाको मृत्यु भएको छ । आगलागी भएको क्याम्पमा ५ जना नेपाली बसोबास गर्दै आएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
पाँच जनामध्ये २ जना सुरक्षित रहेको र ३ जना सामान्य घाइते भएको कुवेतस्थित नेपाली दूतावासलाई उदृत गर्दै श्रम मन्त्रालयले जनाएको छ। आगलागीबाट सामान्य घाइते भएका शिवशंकर पासवान र दोर्जे लामाको अदान अस्पतालमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ । दिनेशकुमार मण्डलको भने फरवानिया अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भैसकेको दूतावासले जनाएको छ । त्यस्तै, जाकिर नाडाफ र सन्तोषकुमार गोइत भने सुरक्षित रहेको कम्पनीले जानकारी दिएको दूतावासको भनाई छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


