
काठमाडौँ, ९ असार । राष्ट्रियसभामा नेपाली काँग्रेसका सांसद जितजंग बस्नेतले संसद्मा मादकपदार्थ खाई आउने सांसदलाई ६ महिना निलम्बन गर्न माग गरेका छन्।
आइतवारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्। उनले केही दिनअघि प्रतिनिधिसभा बैठकमा एक महिला सांसदले पुरुष सांसद संसद्मा मादक पदार्थ सेवा गरी आएको कुरा उठाएको भन्दै संसद्को अनुशासनको कुरा गरेर आफैँ अनुशासनहीन काम गर्ने सांसदलाई ६ महिना निलम्बन गरिनुपर्ने बताए।
उनले बजेटले कर्मचारीको तलबभत्ता नबढाएको धेरै भएको उल्लेख गर्दै कर्मचारीको तलब बढाउन नितान्त आवश्यक रहेको बताए। उनले भ्रष्टाचार र कालोबजारी रोक्न नसक्ने तर कर्मचारीको तलब नबढाउने जायज नरहेको बताए।
बस्नेतले भने, ‘प्रतिनिधिसभामा महिला सांसदले एकजना पुरुष सांसद संसद्मा रक्सी खाएर आउनु हुन्छ भन्नुभयो। यदि त्यसो हो भने कारबाही हुनुपर्छ। संसद्को अनुशासनको कुरा गरेर आफैँ अनुशासनहीन नहोस्। त्यस्तो कार्य भए ६ महिनाको निलम्बन हुनुपर्छ।’ उनले वन अतिक्रमण भएकोबारे सरकारले विशेष ध्यान दिन आवश्यक रहेको बताए।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



