
झापा, २१ असार । सुडानको दक्षिणपूर्वमा सुडानी सेना र अर्धसैनिक बलबीचको लडाइँबाट भाग्न खोज्ने करिब २५ जनाको डुबेर मृत्यु भएको प्रजातन्त्र समर्थक कार्यकर्ताहरूको एक समितिले बिहीबार बताएको छ ।
“दक्षिणपूर्वी राज्य सेन्नारमा ब्लु नाइल नदी पार गर्ने क्रममा डुङ्गा डुब्दा करिब २५ नागरिकको मृत्यु भएको छ, मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन्”, स्थानीय प्रतिरोध समितिले विज्ञप्तिमा भनेको छ ।
गत वर्ष सेना र अर्धसैनिक र्यापिड फोर्स (आरएसएफ) बीच युद्ध सुरु भएपछि प्रजातन्त्र समर्थक प्रदर्शनहरू आयोजना गर्ने र अग्रपङ्क्तिमा सहायता समन्वय गर्ने सुडानभरका सयौँ समितिमध्ये उक्त समिति एक थियो ।
सेन्नारमार्फत आरएसएफको भर्खरैको प्रगतिबाट भाग्दै गर्दा भएको दुर्घटनामा ‘सम्पूर्ण परिवारको मृत्यु’ भएको समितिले बताएको छ ।
पाँच लाखभन्दा धेरैले युद्धबाट बच्नका लागि शरण लिएको सेन्नार राज्यको राजधानी सिन्जामा शनिबार सैन्य आधार कब्जा गरेको आरएसएफले घोषणा गरेको थियो । एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


