
सन्तोष शर्मा
झापा, १९ असोज । झापाको कनकाई नगरपालिका–१ र २ स्थित जामुनखाडी सामुदायिक वन उपभोक्ता समूह तथा जामुनखाडी सिमसार एवम् पर्यटकीय क्षेत्र पूर्वमा चिडियाखानाको प्रचुर सम्भावना सामुदायिक वन हो ।
वि.सं. २०६५ सालमा स्थापना भएको यो पर्यटकीय क्षेत्र पूर्वको पुरानो पर्यटकीय गन्तव्यमध्ये एक हो । यसले स्थापनाकालदेखि नै असुरक्षित जंगली जनावरलाई सुरक्षित आश्रय प्रदान गर्दै आएको छ । सामुदायिक वनको कूल चार सय ४३ हेक्टर वन क्षेत्रमध्ये ३२ हेक्टरमा सिमसार तथा पर्यटकीय क्षेत्र बनाएको छ । कोशी प्रदेशमा चिडियाखाना स्थापना गर्ने चर्चा चलिरहेका बेला हरेक दृष्टिकोणबाट जामुनखाडी उपयुक्त भएको जामुनखाडी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष परशुराम गिरी बताउनुहुन्छ ।
“चिडियाखानाका लागि आवश्वयक पूर्वाधार हामीसँग छ”, उहाँले भन्नुभयो, “यसलाई थप व्यवस्थित गर्न जरुरी छ ।” स्थापनाताको सात÷आठ वर्ष निकै चर्चा र आन्तरिक तथा बाह्य पर्यटक आकर्षक गन्तव्य बनेको जामुनखाडी पछिल्लो समय ओझेलमा परेको अध्यक्ष गिरीले बताउनुभयो ।
अन्य पर्यटकीय क्षेत्रको स्थापना हुनु एउटा कारण भए पनि यसको पूर्वाधार र मौलिकतालाई संरक्षण गर्न नसक्दा ओझेलमा परेको उहाँको भनाइ छ । “असुरक्षित वनजन्तुलाई संरक्षण गरेको जामुनखाडीलाई चिडियाखानाको रुपमा विकास गर्न जरुरी छ”, उहाँले भन्नुभयो, “सम्बद्ध निकायका प्रतिनिधिले समेत अनुगमन गरिसक्नु भएको छ, हामीले आश्वासन पनि पाएका थियौं ।”
जंगली जनावरलाई सामुदायिक वनमा पाल्न सरकारले अनुमति नदिएको समयमा समेत असुरक्षित जनावरलाई सुरक्षा प्रदान गरेको स्मरण गर्दै उहाँले २०७२ सालमा सामुदायिक वनले बनाएको कार्यविधिलाई डिभिजन वन कार्यालयले पास गरेको उहाँले बताउनुभयो ।
सिमसार क्षेत्रमा हाल ११ बिघामा व्यवस्थित मृगस्थली छ भने अन्य जंगली जनावरका लागि सुरक्षित आवासीय स्थल छ । चित्तल, हरिण, बँदेल, चितुवा, भालु, अजिंगर, बाँदर, खयारो, विभिन्न प्रजातिका मुसा, विभिन्न प्रजातिको चरा छन् । ती वन्यजन्तुलाई उचित आहारविहारको व्यवस्था गरिएको वन समूहका सचिव दीपक ओलीले बताउनुभयो ।
“२०७९ मा सरकारले सातै प्रदेशमा प्राणी उद्धार केन्द्र बनाउने नीति ल्याएपछि जामुनखाडीमा उद्धार केन्द्र बनाइयो”, उहाँले भन्नुभयो, “जसका कारण पनि प्रदेश सरकारले जामुनखाडीलाई चिडियाखानाको रुपमा विकास गर्नुपर्ने जरुरी छ ।” प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ मा उपलब्ध गराएको रू एक करोड ५० लाख वन्यन्तु संरक्षणका लागि आवश्यक पूर्वाधारमा खर्च गरिएको सचिव ओलीले बताउनुभयो ।
प्राकृतिक सुन्दरले भरिएको जामुनखाडीमा कुनै समय वार्षिक दुई÷तीन लाख आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका थिए । हाले उक्त संख्या ह्वात्तै घटेको छ । पछिल्ला वर्षहरुमा ८०÷८५ हजार पर्यटक आउने गरेको सामुदायिक वनको तथ्यांकमा देखिन्छ ।
आम्दानीको स्रोत घट्दो र खर्च बढ्दो क्रममा रहेकाले समस्या भइरहेको अध्यक्ष गिरीले बताउनुभयो । विभिन्न निकायमा सहयोगका लागि पहल भइरहे पनि आश्वासन मात्र पाएको उहाँले बताउनुभयो ।
जामुनखाडीलाई पुरानै अवस्थामा फर्काउन पूर्वाधार विकास गर्न अत्यन्तै जरुरी रहेको वनका सल्लाहकार अनिरुद्र ओलीले बताउनुभयो । “अहिलेको पूर्वाधारको ममर्त सम्भार र नयाँ पूर्वाधारको विकास जरुरी छ”, उहाँले भन्नुभयो, “पर्याप्त पूर्वाधार भएको यसलाई पूर्वकै उत्कृष्ट चिडियाखाना बनाउन सकिन्छ ।”
पूर्वपश्चिम लोकमार्गदेखि करिब एक किलोमिटर उत्तरमा रहेको जामनुखाडी यातायातको सुलभ पहुँच छ । आगन्तुक पर्यटकलाई प्रवेश शुल्क रू एक सय तोकिएको छ । वन समूहले सिमसार क्षेत्रलाई व्यवस्थित गर्न कोशेली घर, चरिचरान बन्द, जामुनखाडी सौन्दर्यकरण, चिडियाखानाको पहल, परम्परागत सांस्कृतिक वस्तु संकलन केन्द्र, सिञ्चाइ व्यवस्थापन लगायतका प्रस्ताव अघि सारेको छ ।


