
इलाम, १२ असोज । सूर्योदय नगरपालिका–३ जिल गाउँमा सोमबार बिहान आगलागी हुँदा एक घरसहित घरभित्र रहेका सम्पूर्ण सामान र छिमेकीको एउटा गाडी जलेर पूर्णरूपमा नष्ट भएको छ।
प्रहरीका अनुसार बिहान करिब २ः३० बजे स्थानीय सन्तुलाल तामाङको पक्की पिलर, काठ र टिनको छानो भएको एकतले सुत्ने घरमा आगलागी भएको हो। प्रारम्भिक जानकारीअनुसार भान्सा घरबाट आगो सुरु भएको देखिए पनि आगलागीको यकिन कारण खुल्न सकेको छैन।
आगलागीबारे बिहान ३ः५० बजे इलाका प्रहरी कार्यालय पशुपतिनगरमा जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक प्रविण जोशीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी, सूर्योदय नगरपालिकाको दमकल तथा स्थानीयवासीको सहयोगमा बिहान ४ः५० बजे आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागीबाट तामाङको घर तथा घरभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन्। त्यस्तै, छिमेकी पासाङ तामाङले घर अगाडि पार्किङ गरी राखेको प्रदेश १–०१–००२ च १३९३ नम्बरको डबल क्याप गाडी समेत पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
घटनामा कुनै मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। आगलागीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।


