
झापा, १२ असोज । झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार असोज ११ गते चेकजाँचका क्रममा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले अर्जुनधारा नगरपालिका–८ का प्रमोद साह र राज बिष्टलाई १० ग्राम २०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले मेचीनगर नगरपालिका–६ का सुरेश उराउलाई ४ ग्राम २०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
सुनसरीको इलाका प्रहरी कार्यालय धरानले धरान–१९ का पुजन श्रेष्ठलाई १ ग्राम १३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । यस्तै, अस्थायी प्रहरी चौकी इनरुवाको टोलीले इटहरी–१ का सुरज माझी, तोरण माझी र मनिष माझीलाई ५ ग्राम ४९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, मोरङको इलाका प्रहरी कार्यालय रानीले विराटनगर–१६ बाट भारतको दरभंगाका राकेश कुमार साहलाई ३० ग्राम ३० मिलिग्राम गाँजासहित पक्राउ गरेको छ । धरान–१३ का राजु विश्वकर्मालाई ६ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर र नाइट्राभेट–६० ट्याब्लेटसहित पक्राउ गरिएको छ ।
त्यस्तै, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह र प्रहरी चौकी डाँगीहाटको संयुक्त टोलीले बेलबारी–४ का योगेश लिम्बूलाई ३७७ ट्याब्लेट प्रतिबन्धित औषधिसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


