
कनकाई, १२ असोज । गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पीडित भएकाहरुलाई राहत तथा उद्धारका लागि झापाको कनकाई नगरपालिकाले ३१ लाख रुपैयाँभन्दा बढी सहयोग जुटाउने निर्णय गरेको छ ।
नगरपालिकाको कार्यपालिका बैठकले विपद् प्रभावित नागरिकलाई तत्काल राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले ३१ लाख ५७ हजार १०२ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । नगरपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख क्षेत्रनाथ शर्माले प्रधानमन्त्री दैवी प्रकोप उद्धर कोषमा केही रकम जम्मा भइसकेको र केही जम्मा हुने क्रममा रहेको बताउनुभयो ।
नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट ५ लाख, जनप्रतिनिधिबाट १ लाख ३६ हजार ६ सय, कर्मचारीबाट ९ लाख २६ हजार ४७२, शिक्षकहरुबाट १५ लाख ७८ हजार ५३० र अन्य संघसंस्थाबाट १५ हजार ५ सय गरी ३१ लाख ५७ हजार १०२ रुपैयाँ उद्धार कोषमा जम्मा गरिने जनाइएको छ ।
बिरिङको ठेक्का खोलिँदै
यता, कनकाई नगरपालिकाले बिरिङ खोलाको नदीजन्य पदार्थको उत्खनन् तथा बिक्रीका लागि ठेक्का आह्वान गर्ने भएको छ । खोला उत्खनन्का लागि प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन तयार एवम् छलफल गरी नगरपालिकाले बिरिङ खोलाको ठेक्का लगाउने भएको हो ।


