
सफलता फुयल
प्राकृतिक विपतको रणभूमिमा
हराएको शान्ति खोज्दा खोज्दै
फेरि टुप्लुक्क आएछ चाडपर्व ।
बाढी, पहिरो र विपत्को खबर सुन्दा सुन्दै,
शोकाकुल परिवारजनको खुसी माग्दा माग्दै,
भिजेका परेली पुस्तापुस्तै,
समयको दौडानसँगै,
भित्तेपात्रोको पल्टिएको पानासँगै
घुम्दै फिर्दै शरदका रातसँगै
घर आँगनमा फेरि आएछ चाडपर्व।
तर यसपालि
कसरी दिउँ शुभकामना ?
कसलाई दिउँ म शुभकामना ?
दाजुभाइ बाटोमै फँसेका छन्
बाढी र पहिरोमा अलपत्र परेका छन्
राहत र उद्धारको बाटो कुरिरहेका छन्
कसैको सिउँदो पुछिएको छ,
कसैको काख रितिएको छ,
कसैको परिवार बिछोडिएको छ,
धेरैका भविष्यका सपनाहरु बाटोमै पुरिएका छन्
दशैं आँसुको भेलमा बगेको छ ।
यस्तो अन्योल अवस्थामा,
देश रोइरहेको बेलामा,
खुसी बिलाएको बेलामा,
उमङ्ग हराएको बेलामा,
मनको भावनाको पहिरो गएको बेलामा,
खै, कसरी दिउँ र शुभकामना ?
खै, के दिउँ र शुभकामना ?
हो, पर्वको आगमनमा
थुप्रै आशीर्वादहरू बाँडिन्थे
शुभ सन्देश र शुभकामनाहरू साँटिन्थे
तर किन ?
यसपटक
आँसु बनेर आयो चाडपर्व ?
किन आयो बाढी पहिरो बनेर ?
किन आयो दुर्घटना र काल भएर ?
यस्तो थकित भएको मन लिएर,
आजित भएको र छटपटाएको बेलामा,
म कसरी लगाउँ र नयाँ लुगा ?
खै, के लगाउँ र टिका र जमरा ?
परिवार छुटेको बेलामा,
म कोसँग मागौ र आशीर्वाद ?
मङ्गल धुन सुन्ने कानहरुमा
मृत्युको चित्कार सुन्नुपरेको छ
मन्दिरमा नवदुर्गा पुज्ने बेलामा
हिलोमा गाडिएका लासहरू खोज्नुपरेको छ ।
जमरा राख्ने तयारी नगर्दै,
छोराछोरी आउने आस गर्दागर्दै बाटोमा सास अडेको छ
भिजेका आँखा, भरिएको गह, टुक्रिएको मुटु लिएर
खै,
कहाँ बाडौँ र शुभकामना ?
कसरी दिउँ र शुभकामना ?
किन दिउँ र शुभकामना ?
कसलाई दिउँ र शुभकामना ?
भद्रपुर–१० (झापा)


