
शिवसताक्षी, १ असार । झापाको शिवसताक्षीमा दुई दिवशीय एकीकृत जोखिम न्युनिकरण तथा जलवायु परिवर्तन अनुकूल सम्वन्धी तालिम सम्पन्न भएको छ । हेल्पिङ हेन्डसको आयोजनामा झिलझिलेमा उक्त तालिम सम्पन्न भएको हो ।
तालिममा समुदायमा आधारित कार्ययोजना निर्माण, जलवायु परिवर्तनका कारण र प्रभाव, यसले मानव जीवन तथा प्राकृतिक प्रणालीमा पार्ने असर, वातावरण संरक्षण तथा दिगो विकासबीचको अन्तरसम्बन्ध लगायतका विषयमा कार्यशाला सञ्चालन गरिएको हेल्पिङ हेन्ड्सका अध्यक्ष तिलचन्द्र अधिकारीले जानकारी दिनुभयो ।
तालिमको समापन कार्यक्रममा कोशी प्रदेश सभा सदस्य होम थापाले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन तालिमबाट हासिल गरेको ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो। उहाँले जलवायु परिवर्तनका कारण हरेक वर्ष विभिन्न क्षेत्रमा नयाँ–नयाँ संकट उत्पन्न भइरहेको उल्लेख गर्दै मानव समुदायले कल्पना नै नगरेका विपत्तिहरूको सामना गर्न बाध्य भइरहेको बताउनुभयो ।
कार्यक्रमका सहजकर्ता नवीन दाहालले पछिल्लो समय जलवायु परिवर्तनका कारण मौसमीय प्रणालीमा व्यापक परिवर्तन देखिन थालेको बताउनुभयो । उहाँका अनुसार असामान्य वर्षा, हावाहुरी तथा अत्यधिक वर्षाजस्ता घटनाहरू बढ्दो क्रममा रहेका छन्, जसले जनधनको ठूलो क्षति पुर्याउँदै आएको छ । यस्ता चुनौतीहरूको सामना गर्न विपद् व्यवस्थापन प्रणालीलाई अझ सुदृढ र तयारी अवस्थामा राख्न आवश्यक रहेको उहाँले जोड दिनुभयो ।
कार्यक्रममा सहभागीहरूको तर्फबाट शिवसताक्षी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष विष्णु प्रसाई तथा माई नगरपालिकाकी शिक्षा अधिकृत सीतादेवी लावतीले तालिमले विपद् जोखिम न्यूनीकरण तथा समुदायस्तरको तयारीका विषयमा महत्वपूर्ण सिकाइ प्रदान गरेको धारणा व्यक्त गर्नुभयो ।
तालिमको सहजीकरण बासुदेव काफ्ले र नवीन दाहालले गर्नुभएको थियो । तालिममा कोशी प्रदेशका २२ पालिका विपद व्यवस्थापनसँग सम्बन्धित कर्मचारी र जनप्रतिनिधिहरुले सहभागिता रहेको थियो । कार्यक्रममा एचएचआरडी नेपालका प्रोग्राम म्यानेजर जीनप्रसाद पोख्रेल, शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । समापन कार्यक्रमको सञ्चालन हेल्पिङ हेन्ड्सका उपाध्यक्ष केशव भण्डारीले गर्नुभएको थियो ।


