
झापा, २५ कात्तिक । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले थप १३ दिनको म्याद दिएको छ ।
न्यायाधीश नवराज दाहालको इजलासले गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक लामिछानेसहित गोरखा मिडिया नेटवर्कका पूर्व उपाध्यक्ष छविलाल जोशी, गिबी एन्ड ग्रुपकी कर्मचारी गीता पछाई र नेचर हर्ब्स इन्टरनेसनलका सञ्चालक रामबहादुर खनाललाई आइतबारबाट गणना हुने गरी १३ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो ।
सभापति लामिछानेलाई चौथो पटक म्याद थप गरिएको हो । सूर्यदर्शन सहकारी ठगी प्रकरणमै उनीहरुविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा अनुसन्धान जारी छ । पोखराको सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा लगेर हिनामिना गरेको अभियोगमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो ।


