
झापा, १३ मंसिर । खुट्टामा घाउ भएको भन्दै चिनजानकै स्वास्थ्यकर्मीलाई कोठामै बोलाएर हनिट्रयापमा परेर असुली गर्न खोज्ने तीन जालाई प्रहरीले पक्राउ गरेको छ । इलामकी एक युवती र काभ्रेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुरको नयाँठिमी बस्ने २६ वर्षीया वर्षा दर्जीले मंसिर ६ गते दिउँसो म्यासेन्जरबाट सम्पर्क गरेकी घाउ ड्रेसिङ गरिदिनु पर्यो भनेपछि स्वास्थ्यकर्मी उनको घरको कोठामा पुगेका थिए । काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका–४ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–५ नयाँठिमी बस्दै आएकी वर्षाले बोलाएपछि कोठामा ती स्वास्थ्यकर्मी पुगे पनि उनको खुट्टामा कुनै घाउ देखिएन ।
वर्षाले स्वास्थ्यकर्मी पुगेपछि आफ्नो कोठाको ढोका लगाइन् । ती स्वास्थ्यकर्मी भित्रै फसे । पछि ढोकाको चुकुल खोलेर बाहिर निस्कँदै गर्दा अर्की युवतीले वर्षालाई जबर्जस्ती करणी गरेको आरोप लगाउँदै बार्गेनिङ गर्न थालिन् । समृद्धि मगरले यसरी बाहिर निस्कँदै गरेका ती स्वास्थ्यकर्मीलाई कोठामा फर्काएर सहमतीमा आउने कि मुद्दामा फसाइदिउँ भन्दै धम्की दिएर १८ लाख रुपैयाँ माग गरेका थिए । ८ लाख रुपैयाँ दिने सहमतीपछि ती स्वास्थ्यकर्मी त्यहाँबाट उम्किन सफल भएका थिए ।
मंसिर ११ गते कौशलटारको वेभ सेकुवा कर्नरमा बिहान ११ बजे फेरि भेटे । ती स्वास्थ्यकर्मीले दीपेन्द्र दर्जी र समृद्धी मगरलाई सुरुमा २५ हजार रुपैयाँ नगद दिए। समृद्धीको बैंक खातामा २५ हजार रुपैयाँ जम्मा गरिदिए । सोही दिन दिउँसो ४ बजेतिर स्वास्थ्यकर्मीले उनीहरूलाई त्यही ठाउँमा भेटेर ७५ हजार रुपैयाँको चेक दिए । आफूलाई फसाउन खोजेको भन्दै स्वास्थ्यकर्मीले प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ। एकजना फरार रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीप्रसाद आचार्यले बताए ।
प्रहरीले उनीहरूको साथबाट ७५ हजार रुपैयाँको चेक र २० हजार ५०० रुपैयाँ नगद बरामद गरेको छ। ११ गते नै समृद्धी र दीपेन्द्रलाई पक्राउ गरेको थियो। वर्षालाई पनि बुधबार पक्राउ गरेर थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाएको छ। २५ वर्षकी समृद्धी इलामकी र अरु दुई जना काभ्रेका हुन्। ३० वर्षका दीपेन्द्र यसअघि पनि कर्तव्य ज्यान सम्बन्धी कसुरमा काभ्रेमा सजाय भुक्तान गरेर रिहा भएको खुलेको छ। प्रहरीले उनीहरूलाई आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाउने भएको छ।


