झापा, १४ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित एउटा टेलिकम कम्पनीमा लगानी रहेको भनेर सार्वजनिक गरेको कागजात ‘झुटो’ भएको स्वीकार गरेका छन् । केन्द्रीय साइबर ब्यूरोका अनुसन्धान अधिकृतहरूलाई बयान दिँदै उनले सो कागजात झुटो रहेको स्विकारेका हुन् ।
‘कागजत झुट रहेछ’ प्रसाईंको बयान उदृत गर्दै अनुसन्धानमा संलग्न एकजना अधिकृतले भने, ‘युट्युबरले तयार गरेका हुन् मैले सार्वजनिक मात्र गरेको हुँ ।’ कागजात तयार गर्न आफूले १ करोड बुझाएको भन्दै पत्रकार सम्मेलन गरेका प्रसाईंले रकम बुझाएको कुरा पनि अस्वीकार गरेका छन् । अहिले उनलाई सीआईबी मातहतको केन्द्रीय साइबर ब्यूरोले विद्युतीय कारोबार ऐन–२०६३ अनुसारको कसुरमा अदालतबाट म्याद लिएको छ । प्रसाईँ मंसिर ४ मा पक्राउ परेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको कसुरमा उनीविरुद्ध प्रहरीले लिखत किर्ते सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ । साइबरसँगै अन्य कसुरपनि आकर्षित हुने देखिएसँगै अरू मुद्दामा पनि अनुसन्धान थालिएको सीआईबीका एकजना अधिकृतले बताए । प्रहरीले प्रसाईँविरुद्ध साइबर र किर्तेसँगै आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गरिरहेको छ ।