
झापा, १५ मंसिर । नेपाली मौसममा पश्चिमी वायुको सामान्य प्रभाव कायमै छ । शनिबार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुने र बाँकी भू-भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, महाखाशाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई हिमपातको सम्भावना समेत छ । राती भने कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुने र बाँकी भागमा मौसम सफा रहने बताइएको छ ।
आइतबार कोशी प्रदेश लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने पूर्वानुमान छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले पर्यटन तथा पर्वतारोहणमा क्षणिक आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसमविदहरुले सुझाव दिएका छन् ।


