
झापा, २१ मंसिर । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । आज बिहान कोसी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागसहित बाँकी तराईका भूभाग तथा उपत्यकाहरुका केही स्थानमा अहिले हुस्सु र कुहिरो लागिरहेको छ। आज दिउँसो पनि कोसी र गण्डकी प्रदेशसहित बागमती र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ। कोसी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
आज राति पनि कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।


