
झापा, २१ मंसिर । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेलमा हार भोगेका पोखरा एभेन्जर्स र कर्णाली याक्स दुई छुट्टाछुट्टै खेलमा पहिलो जितको खोजीमा मैदान उत्रनेछन् ।
सदाझैँ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने पहिलो खेलमा कर्णाली याक्स चितवन राइनोजसँग भिड्दै छ । कर्णाली सोमपाल कामीको कप्तानीमा छ। बलियो मानिएको कर्णालीले मैदानमा भने सोचेअनुसार प्रदर्शन गर्न सकिरहेको छैन ।
आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ र दोस्रो खेलमा काठमान्डुसँग ३ विकेटले पराजित कर्णाली आज तेस्रो खेलमा चितवनलाई हराउँदै पहिलो जित हासिल गर्ने प्रयासमा हुनेछ । उता कुशल मल्लको कप्तानीमा रहेको चितवन भने लगातार तेस्रो जितको खोजीमा मैदान उत्रनेछ। चितवनले पहिलो खेलमा काठमान्डु गुर्खाजलाई ५ विकेट र दोस्रो खेलमा पोखरालाई ८७ रनले हराएको थियो।
दुई खेलबाट ४ अंक जोडेको चितवन तालिकाको तेस्रो स्थानमा छ। दुई खेलमा पराजित कर्णाली भने अंक तालिकाको सातौँ स्थानमा छ । दिउँसो १ बजे सुरु हुने आजको दोस्रो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्दै छन् । पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रनेछ भने लुम्बिनीको नेतृत्व रोहित पौडेलले गर्नेछन् ।
लगातार दुई खेलमा हार भोगेको पोखरा आज पहिलो जित हासिल गर्न चाहन्छ । आफ्नो पहिलो खेलमा पोखरा चितवनसँग ८७ रन र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग ७ विकेटले हारेको थियो । लुम्बिनी भने एनपीएलमा आज दोस्रो खेल खेल्दै छ । पहिलो खेलमा एनपीएलकै कीर्तिमानी लक्ष्य बनाएर पनि पराजित लुम्बिनी दोस्रो खेलमा पहिलो जितको स्वाद चाख्न चाहन्छ । लुम्बिनीले पहिलो खेलमा विराटनगरलाई १ सय ९२ रनको विशाल लक्ष्य दिए पनि २ विकेटले हारेको थियो।


