
झापा, १ पुस । नेपाल र चीनका निजी क्षेत्रबीच नेपालबाट वार्षिक डेढ अर्ब अमेरिकी डलरको राँगा भैँसीको मासु निर्यात गर्नेसम्बन्धी समझदारी भएको छ ।
आज यहाँ आयोजित कार्यक्रममा नेपालको हिमालयन फुड इन्टरनेशनल र चीनको साङ्घाई जियान फुड कम्पनी लिमिटेडबीच सोसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीसँगै सो कम्पनीले पहिलो चरणमा वार्षिक उक्त मूल्य बराबरको मासु निर्यात गर्ने लक्ष्य राखेको छ । चीनमा वार्षिक २७ लाख मेक्टिक्टन मासु आयात हुने तथ्याङ्क छ ।
हिमालयन फुड इन्टरनेशनलको सहकार्यमा रु छ अर्ब लागतमा पूर्ण स्वचालित आधुनिक पशु वधशाला आउँदो छ महिनाभित्र निर्माण सम्पन्न गर्ने समझदारी बनेको छ । हिमालयन फुड प्रशोधित मासु निर्यातका लागि २०६८ मा स्थापना भएको थियो । कम्पनीले विभिन्न मुलुकमा प्रशोधित मासु निर्यात गर्दै आइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणका क्रममा नेपाल र चीनबीच प्रशोधित राँगा भैँसीको मासु चीन निर्यात गर्नेसम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको थियो ।



