

झापा, ३ माघ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।
निगम सञ्चालक समितिको आजको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्यमा मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ६४ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६५ रुपैयाँ कायम भएको छ ।

यस्तै डिजेल र मट्टितेल पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ५३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५५ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५६ रुपैयाँ तोकिएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ ।
इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु २.२४ र डिजेलमा रु ३.५५ ले बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।