
सन्तोस शर्मा
झापा, ११ चैत । झापामा २५ जना क्षयरोगका बिरामीको मृत्यु भएको छ ।
चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्म आठ महिनाको अवधिमा २५ जना क्षयरोगका बिरामीको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन विरेन्द्र दासले जानकारी दिनुभयो । सोही अवधिमा सात सय जना नयाँ क्षयरोगी समेत फेला परेको उहाँले बताउनुभयो । गत आव २०८०÷८१ क्षयरोगबाट संख्या ४८ जनाको मृत्यु भएको थियो ।
खकार परीक्षणबाट पत्ता लागेका चार सय १२ जना, एक्स–रेबाट एक सय दुई जना र शरीरका अन्य भागमा क्षयरोग देखिएको एक सय ८६ जना गरी कूल सात सय जना नयाँ क्षयरोगी फेला परेको कार्यालयले जनाएको छ ।
जिल्लामा फोक्सोको क्षयरोगीको संख्या सबैभन्दा धेरै रहेको छ । कूल क्षयरोगीको संख्यामध्ये चार सय ७१ जना फोक्सोका क्षयरोगी छन् । त्यस्तै, फोक्सोबाहेकका एक सय ६२ जना, टी.बी. र एचआइभी दुवै भएका आठ जना, औषधि प्रतिरोधी क्षयरोगका बिरामी (डिआरटीबी) १६ जना क्षयरोगी रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
झापामा आव २०७७/७८ मा नौ सय ९२, आव २०७८/७९ मा एक हजार एक सय ८६ र आव २०७९/८० मा एक हजार एक सय ६५ र आव २०८०/८१ मा एक हजार दुई सय ६५ जना नयाँ क्षयरोगी फेला परेका थिए ।
स्वास्थ्य कार्यालय झापासँगै १५ वटा स्थानीय तह अन्तर्गतका ७९ वटा स्वास्थ्य संस्थाहरूमा क्षयरोगको निःशुल्क उपचार, निःशुल्क खकार परीक्षणका लागि २२ वटा माइक्रोस्कोपिक सेन्टर, तीन वटा जिनएक्स्पर्ट सेन्टर र डिआरटीबीको बिरामीका उपचारका लागि चार वटा सब डिआर सेन्टरको व्यवस्था रहेको छ ।
औषधि सेवनको अवधि पूरा गर्ने विपन्न वर्गका बिरामीलाई मासिक रू पाँच सय प्रोत्साहन रकम दिने गरिएको छ । संघीय कार्यक्रम अन्तरगत झापाको तीन वटा पालिका शिवसताक्षी, बिर्तामोड र मेचीनगर नगरपालिकामा क्षयरोगमुक्त अभियान समेत सञ्चालित छ ।
‘हो हामी क्षयरोग अन्त्य गर्ने सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता आजको अवश्यकता’ भन्ने नाराका साथ आज देशभर विश्व क्षयरोग दिवस मनाइँदै । सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल घोषणा गर्ने सरकारी लक्ष्य छ ।
क्षयरोग भनेको के हो ?
क्षयरोग माइकोब्याक्टेरियम ट्युबरक्लोसिस नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो । क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सर्दछ ।
क्षयरोगीले खोक्दा, हाछ्यु गर्दा कीटाणु निरोगी मानिस सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुने हुन्छ । कुपोषण भएका, धुम्रपान तथा सूर्तीजन्य प्रदार्थको सेवन, मधुमेहका बिरामी, मद्यपान गर्ने मानिस, एचआइभी सङ्क्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुमा क्षयरोगको उच्च जोखिम रहेका हुन्छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



