इलाम, २७ बैशाख । पाठ्यक्रममा आदिवासी जनजातिको अवस्था, इतिहासलाई समेट्न आदिवासीको अध्ययन अनुसन्धान थालिएको छ ।
काठमाडौँ विश्वविद्यालयमा स्नातकोत्तर तहमा आदिवासीको शिक्षा र विकासलाई समेट्नका लागि जिल्ला जिल्लाबाट अध्ययन अनुसन्धान थालिएको हो । यसैक्रममा इलाम सदरमुकाममा काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन ललितपुर र नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् इलामले काठमाडौँ विश्वविद्यालय स्नातकोत्तर तहमा आदिवासीको शिक्षा र बिकास कार्यक्रम सम्बन्धि छलफल तथा अन्तरक्रिया गरेको छ ।
हाल काठमाडौँ विश्वविद्यालय स्नातकोत्तर तहको पहिलो वर्षमा आदिवासीको बारेमा अध्यापन भइरहे पनि दोस्रो वर्षमा पनि अध्यापन गराउन पाठ्यक्रम निर्माणको लागि जुटेको अवस्थामा अध्ययन थालिएको हो । पहिलो चरणमा कोशी प्रदेशको इलाम, सुनसरी, सङ्खुवासभा र धनकुटामा अध्ययन गरिने काठमाडौँ विश्वविद्यालयका प्रोफेसर इन्द्रमणि राई र डा.लिना गुरुङ जुट्नुभएको छ ।
सोही क्रममा इलाम सदरमुकाममा छलफल गरिएको हो । छलफलमा सहभागीहरूले पाठ्यक्रममा आदिवासीको भोगाई, आदिवासी जनजाति पछि पर्नुको कारण, आदिवासीको सिप, ज्ञान जस्ता कुराहरूलाई पाठ्यक्रममा समेट्नुपर्ने सुझाव दिएका छन् । समुदाय स्तरबाट आएका सल्लाह, सुझावलाई मध्यनजर गरेर पाठ्यक्रम निर्माणमा जुटिने प्रोफेसर इन्द्रमणि राईले बताउनुभयो ।
कार्यक्रममा पूर्व क्याम्पस प्रमुखहरू युद्धप्रसाद वैद्य, जसबहादुर लुङगेली, मानव अधिकारकर्मी मोहनसिंह थेबे, हिराकाजी घले जसबहादुर राईलगायतले आ आफ्नो धारणा राख्नुभएको महासङ्घका उपाध्यक्ष भक्तबहादुर थामीले जानकारी दिनुभयो ।


