कनकाई, २७ बैशाख । झापाको कनकाई वडा नं. ७ मा महिलाका लागि उद्घोषण तथा माइन्यूट लेखन सम्बन्धी तालिमको शुक्रबार सम्पन्न भएको छ।
कनकाई वडा नम्बर ७ को आयोजनामा गत बैशाख २२ गतेबाट २६ गते ५ दिनसम्म सञ्चालन भएको तालिमको समापन कार्यवाहक वडाध्यक्ष अरुणा सुब्बाको अध्यक्षता र कनकाई नगरपालिकाकी उप–प्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्यमा भएको हो ।

कार्यक्रममा उपप्रमुख शिवाकोटीले महिलाहरुले आफ्नो व्यतित्व विकास गर्न इच्छा शक्ति जागृत गर्नुपर्ने बताउनु भयो । उहाँले नगर र वडाले ल्याएका कार्यक्रममा महिलाको सहभागिता न्यून देखिनु अनि महिलाको लागि कार्यक्रम भएन भनि गुनासो गर्नु उचित नभएको बताउनुभयो । उहाँले यस्ता तालिमहरु नगरमा अतिआवश्यक रहेको मनन गर्दै आगामी दिनमा बजेटको व्यस्थापन गर्दै प्राथमिकतामा राख्ने विश्वास दिलाउनुभयो।
महिलाका लागि आयमूलक तथा क्षमता विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको वडा नम्बर ७ की कार्यवाहक वडाध्यक्ष सुब्बाले बताउनुभयो । उहाँले आफूहरुले सिकेको सिपलाई सकेसम्म टोल समूह तथा भेला लगायतमा सहभागी भई सही सदुपयोग गर्दै अगाडि बढ्न सुझाव दिनुभयो ।

कार्यक्रममा वडा सदस्य निर्मल आङ्ग्थोपोले स्वागतसहित चालू आर्थिक वर्षमा वडाबाट भएका कामका बारेमा जानकारी गराउनुभएको थियोे । उहाँले वडा न ७ मा प्राप्त बजेटलाई योजनाबद्ध रुपमा सबै क्षेत्रमा मिलाएर युवा, महिला, बालबालिका, जेष्ठ नागरिक लक्षित तालिम निरन्तर भइरहेको बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य भगन टुडु सतार, वडा सदस्य सावित्रा सार्की, टोल बिकास समिति ४ का अध्यक्ष कमल न्यौपाने, टोल विकास समिति ८ का भक्तबहादुर तामाङ, टोल बिकास समिति ९ का अध्यक्ष महेश्वर शिवाकोटी लगायतले सिकेको सीपको सदुपयोग गर्न सुझाव दिनुभएको थियो ।
तालिम समापनको अवसरमा प्रशिक्षार्थीहरुले आफूहरुले पाएको तालिमको अनुभव सुनाउनु भएको थियो । तालिमको सहजीकरण पत्रकार भरत प्रसाईं तथा सञ्चारकर्मी निराजन निरौलाले गर्नुभएको थियो । तालिममा वडा नम्बर ७ भित्रका १० वटा टोलका २० जनाको सहभागिता रहेको थियो ।


