कचनकवल, १० जेठ । झापाको कचनकवल गाउँपालिका–६ स्थित सर्पदंश उपचार केन्द्र बनियानीमा विषालु सर्प गोमनले डसेको एक भारतीय बिरामीको सफल उपचार भएको छ ।
भारत बिहार राज्यको डिगलबैंकका ४० वर्षीय अजय हास्दाको सफल उपचार भएको हो । हास्दालाई गोमनले डसेको सर्पदंश उपचार केन्द्र बनियानीका मेडिकल अफिसर डा. दिपेन राजवंशीले जानकारी दिनुभयो । उहाँका अनुसार चालू आर्थिक वर्ष २०८१÷८२ को यो पहिलो विषालु सर्पदंशको घटना हो ।
शुक्रबार साँझ हास्दा मकैबारीमा काम गरिरहेका बेला केही चिजले टोकेको महसुस गरे पनि बेवास्ता गर्नुभयो । तर, घर फर्किएर खाना खान बस्दा चक्कर लागेपछि सर्पले टोकेको आशंका गरिएको थियो ।
परिवारले तत्कालै उनलाई नजिकैका धामीकहाँ लगे जहाँ धामीले ‘अविषालु सर्पले टोकेको, आत्तिनु पर्दैन’ भन्दै घर फर्काएर आराम गर्न सल्लाह दिएको थियो । तर, स्वास्थ्य अवस्था थप बिग्रँदै गएपछि हास्दालाई राति करिब ११ः३० बजेतिर सर्पदंश उपचार केन्द्र बनियानी ल्याइएको थियो ।
उपचारमा संलग्न डा. दिपेन राजवंशीका अनुसार अस्पताल ल्याउँदा बिरामीको अवस्था अत्यन्त गम्भीर थियो । “रक्तचाप निकै कम थियो, सास फेर्न गाह्रो भइसकेको थियो”, उहाँले भन्नुभयो, “तुरुन्तै एन्टिस्नेक भेनोम शुरु गर्यौं, १० भाइलसम्म प्रयोग गर्नुपर्यो ।”
हास्दाको स्वास्थ्यमा क्रमशः सुधार आएको डा. राजवंशीले बताउनुभयो । हास्दाको उपचारमा डा. राजवंशीसहित सिएमए नवाज नुरी, एएनएम अरुना कोइराला र स्वास्थ्य सहायक उमा अर्याल रातभर खटिनुभएको थियो ।
बिरामीको स्वास्थ्यमा सुधार आए पनि केन्द्रमै २४ घण्टाको निगरानीमा राखिएको छ । स्वास्थ्यमा थप सुधार आएपछि डिस्चार्ज गरिने जनाइएको छ ।


