दमक, ११ जेठ । सानो प्रयास युवा समाज दमकले शव वहान सेवा सञ्चालनमा ल्याएको छ ।
करिब १२ लाख रुपैयाँको लगानीमा खरिद गरिएको उक्त सवारी साधन दमक, कमल, उर्लाबारी लगायत आसपासका क्षेत्रमा सेवा दिने लक्ष्यका साथ सञ्चालनमा ल्याइएको हो । अन्य शव वहानको तुलनामा सहुलियत शुल्कमा सेवा प्रदान गरिने र आर्थिक रूपमा कमजोर परिवारहरूलाई विशेष छुट दिइने समाजले जनाएको छ ।
संस्थाका अध्यक्ष छबि खतिवडाका अनुसार, गरिब तथा ठूला परिवारलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको उक्त सवारीमा ३० जना यात्रु अटाउन सक्ने सुविधा छ, जुन अन्य शव वहानको तुलनामा धेरै हो । यसले गर्दा अन्तिम संस्कारमा सहभागी परिवारका सदस्यहरूले अर्को सवारी साधनको आवश्यकता बिना एउटै सवारीमा यात्रा गर्न सक्ने छन् । सानो प्रयास युवा समाजले यसअघि पनि दमकमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइसकेको छ ।


