
झापा, १३ जेठ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुन यसै साता प्रवेश गर्ने सम्भावना देखिएको जनाएको छ ।
महाशाखाले आज जेठ १३ गते साँझ ६ बजे मनसुन आगमन अनुगमन बुलेटिन–१ जारी गरी नेपालको पूर्वी क्षेत्रमा मनसुन प्रवेश गर्ने सरदर मिति जुन १३ तारिख भए पनि यसपटक अगाडि नै आउने संकेत देखिएको जनाएको हो ।
‘मंगलबार भारतको आसामका केही भूभाग तथा भुटान र बंगलादेशको पूर्वी भूभागसम्म मनसुनको आगमन भएको देखिन्छ’, महाशाखाले विज्ञप्तिमा भनेको छ, ‘नेपालको पूर्वी भूभागबाट मनसुनको आगमन हुने सरदर मिति जुन १३ तारिख हो तर यस वर्षको मनसुन आगमन सरदरभन्दा छिटो हुने देखिन्छ।’
भू–उपग्रहबाट प्राप्त बादलका तस्बिर, वायुमण्डलीय तथा मौसम मोडेलबाट प्राप्त तथ्यांक विश्लेषणका आधारमा यस वर्षको मनसुन यसै साताको अन्त्यसम्ममा नेपालको पूर्वी क्षेत्रबाट प्रवेश हुने सम्भावना देखिएको विज्ञप्तिमा उल्लेख छ ।
यसपटक मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ। मौसमविद्का अनुसार नेपालमा मनसुन जुन, जुलाई, अगस्ट र सेप्टेम्बर ४ महिना रहन्छ । नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख हो । तर, यसमा पनि केही दिन तलमाथि हुन्छ ।


