झापा, १४ जेठ । झापा र इलामबाट लागुऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जेठ १३ गते झापाको मेचीनगर नगरपालिका–६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ५ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर र बेचबिखनमा संलग्न मे. ५ प ९६४५ नम्बरको मोटरसाइकल सहित मोटरसाईकल चालक कनकाई नगरपालिका–५ का २५ बर्षीय रुपक गडतौला र शिवसताक्षी नगरपालिका–९ का २५ बर्षीय बिरहाङ लेछर्वो लिम्बुलाई नियन्त्रणमा लिएको हो ।
त्यस्तै, प्रहरी चौकी बाघखोरले दमक नगरपालिका–३ का २९ वर्षीय किरण राई र भारत बिहारका ३६ बर्षीय मनिश कुमार गुप्तालाई ८ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
त्यसैगरी, इलामको चुलाचुली गाउँपालिका–४ स्थितबाट प्रहरी चौकी पेल्टिमारीले प्र. १–०१–०१३ प ५४८३ नम्बरको मोटरसाईकल चालक सोहि स्थानका २० वर्षीय अन्जन राईलाई ८५० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको छ ।


