
झापा, १४ जेठ । बेलायतमा १० हजार फिट माथिबाट खसेर एक महिलाको मृत्यु भएको छ । आइतबार ३२ वर्षीय जेड डेमेरलको ‘स्काइ डाइभिङ’ का क्रममा १० हजार फिट माथिबाट जमिनमा बजारिएर मृत्यु भएको हो ।
उनी अनुभवी ‘स्काइ डाइभर’ थिइन् । उनले ४०० पटकभन्दा बढी हामफालिसकेको बताइएको छ । मृत्यु हुनुभन्दा अघिल्लो रातमात्र प्रेमीसँग उनको ‘ब्रेकअप’ भएको थियो । एक रात अघि जेडका प्रेमी बेन गुडफेलोले उनीसँगको सम्बन्ध तोडेको बताइएको छ ।
जेडका एक साथीका अनुसार दुवै सँगै बस्थे । उनीहरू स्काइ डाइभिङ पनि सँगै गर्थे । यद्यपि, सो घटनाको दिन उनका प्रेमी बेन कामको सिलसिलामा अन्तै गएको र जेड भने स्काइ डाइभिङमा गएको बताइएको छ ।
जेडले आफूसँग भएको प्यारासुट जानाजान नखोलेको हुन सक्ने अनुमान गरिएको छ । अनुसन्धान अधिकृतहरूका अनुसार प्यारासुट लगायत उनका उपकरणमा कुनै खराबी नरहेको पाइएको छ ।
जेडले लेखेको एक नोटसमेत फेला परेको अधिकारीहरूले जनाएका छन् । उक्त नोटमा उनले ब्रेकअपको चर्चा गरेको जनाइएको छ ।


