सरोज भट्टराई
शिवसताक्षी, २१ जेठ । झापाको शिवसताक्षी नगरपालिका वडा नं. १ ले आर्थिक वर्ष २०८१/०८२ मा विनियोजित बजेटका अधिकांश कामहरु पुरा गरेको जनाएको छ । वडाले वडाभित्रका ठूला सडकहरु ९० प्रतिशत कालोपत्रे भएका छन्, भने दुई वडा सडक कालो पत्रे निर्माणको चरणमा रहेको छ ।
संघीय सरकार अन्तर्गत माझी डाँडा सडक १६ सय मिटर कालो पत्रे गरिएको वडावध्याक्ष लक्ष्मी चेम्जोङ्गले जानकारी दिए । अध्यक्ष चेम्जोङ्गका अनुसार वडामा पर्ने रिङ्गरोड अन्तरर्गतको सडक ३ सय मिटर, प्रदेश सरकारको बजेटबाट वडाबाट सिधै नगरपालिका जाने ट्रङरोड सडक १ सय मिटर कालो पत्रे भएका छन् ।

रमाइलो चोकदेखि धनबहादुर भण्डारीको घर जाने बाटो वडाको २ लाख बजेट, लेलु राजवंशीको घर पश्चिम अधुरोबाटो १ लाख ५० हजार र सध्या विष्टको घरपूर्व दुलाल गाउँ जोड्ने सडक वडाको २ लाख बजेटबाट स्तरोन्नती गरिएको छ ।
वडाध्यक्ष लक्ष्मी चेम्जोङ वि.सं. २०४९, २०५४ सालको निर्वाचनमा धरमपुर गाविस वडा नं. ८ का निर्वाचित वडाध्यक्ष हुन् । गएको चुनावमा शिवसताक्षी १ बाट वडाध्यक्ष कै पदमा निर्वाचित भए । उनीसँग जनताको काम गर्ने लामै अनुभव रहेको स्थानीय बासी बताउँछन् । वडाध्यक्ष चेम्जोङ्ग भन्छन् । यहाँका मुख्य सडकहरु म पहिलो निर्वाचित हुँदा स्थानीय बासीको जनश्रमदानबाट निर्माण गरिएको हो ।
हाल ती सडकहरु मेरै पालामा कालोपत्रेको काम गरिएको छ । मुख्य सडकहरु ९० प्रतिशत कालोपत्रे भएका छन् । पछि निर्माण गरिएका साना र छोटा दर्जन बढी सडकहरु सामान्य स्तरोन्नती मात्र गरिएका छन् । ठुला सडकहरुमा कालोपत्रेको काम सकिएपछि सानालाई पनि कालोपत्रे गरिने वडाध्यक्ष चेम्जोङ्गले जानकारी दिए ।
वडामा एक मात्र सामुदायिक विद्यालय छ । जुन लक्ष्मी नारायण माध्यमिक विद्यालय हो । उक्त विद्यालयमा अध्यापन गराउने कम्प्युटर शिक्षकलाई वडाले तलबको व्यवस्था गरिएको छ । जसमा विद्यालयले व्यवस्थापन गरेको शिक्षकलाई वडाले वार्षिक ४ लाख खर्च गरिरहेको जनाएको छ । विद्यार्थीको भविष्य र प्रविधि मैत्री गुणस्तरीय शिक्षाका लागि वडा लगानी गरेको वडाध्यक्ष चेम्जोङ्गको भनाई छ । उनले आगामी आ.व.मा उक्त विद्यालयबाट एसईई दिने विद्यार्थीहरुलाई वडाले अतिरिक्त कक्षाको व्यवस्था गरी सबै विद्यार्थीहरुलाई उत्र्तिण गराउन प्रयत्न गरिने बताए ।
त्यस्तै धरमपुर चौक पुर्व ढलको स्लाप निर्माण, वडा भित्रका आवश्यक स्थानहरुमा ह्यमपाइप राखिएको वडा कार्यालयले जनाएको छ ।
वडामा पर्ने लेलिया खोलाले त्यहाँका स्थानीयको जग्गा वर्षौ देखि कटान गरेकाले उक्त स्थानमा तटबन्धन गरी रोकथापन गरिएको छ । वडाले सुत्केरी पोषण कार्यक्रम अन्तर्गत वडाका ३४ जना सुत्केरी महिलाहरुलाई पोषण युक्त खानेकुरा वितरण गरिएको छ । सुत्केरी अवस्थामा आमा र शिशुको स्वास्थ्यलाई मध्य नजर गर्दै वडाले पोषण कार्यक्रम सञ्चालन गरेको जनाएको छ । जसमा ध्यु, हर्लिक्स, साबुन र झुल वितरण गरिएको हो । त्यस्तै गरी वडाका किसानहरुका लागि मकै रोप्ने मेसिन वितरण गरिएको छ । जसमा ४२ जना कृषकहरुले ७० प्रतिशत अनुदानमा मकै रोप्ने उपकरण प्राप्त गरेका छन् ।
महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले छनोटमा परेका १० जना महिलाहरुलाई सिलाई कटिङ्गको एडभान्स कोर्ष सञ्चालन गरिएको वडाले जनाएको छ ।
वडाको मुख्य समस्याका रुपमा भुमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासी रहेका छन् । वडाध्यक्ष चेम्जोङ्गले भने, म तेस्रो पटक वडाध्यक्ष भइरहँदा पनि जग्गा धनीपूर्जा वितरणको कार्य गर्न सकिएको छैन । यो पुरानै समस्या हो । सरकारले गठन गरेको भुमि समस्या समाधान आयोगले अन्य पालिकाहरुमा धनीपुर्जा वितरणको काम थाले पनि शिवसताक्षी धनीपुर्जा वितरणको काम सुरु गरेको छैन । वडा नं. १ मा भने जग्गाको नाप नक्सा भइसकेको छ । यहाँका नागरिक अहिले सम्म जग्गा धनीपुर्जाको पर्खाईमा रहेका छन् ।
हाल निर्माणाधि एशियन हाइवेले सडकको उचाई बढाउँदा वडा नं. १ मा रहेको धरमपुर बजार डुवानमा पर्ने खतरा बढेको वडाध्यक्ष चेम्जोङले बताए । आयाजना सँग पटक पटक सडकको छेउमा नाला निर्माणका लागि कुरा राख्दा पनि सुनुवाई हुने देखिएन । आयोजना नालाको स्टमेन्ट नै नभएकाले अहिले निर्माण गर्न नसकिने भन्दै पन्छिने गरेको वडाध्यक्ष चेम्जोङ्गको भनाई छ ।


