झापा, २३ जेठ । आजदेखि देशभरिका स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन विराटनगरमा हुँदैछ।
विराटनगर महानगरपालिकाको आयोजनामा आज र भोली (जेठ २३ र २४ गते) वीरेन्द्र सभागृहमा सम्मेलन हुँदैछ । संघीयतालाई संस्थागत गर्ने उद्देश्यसहित उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन पहिलोपटक विराटनगरमा हुन लागेको हो ।
दुई दिने सम्मेलनमा न्यायिक समितिबाट निरुपण हुने विवाद तथा मुद्धाहरुलाई थप प्रभावकारी बनाउन अन्तरपालिका अनुभव आदान प्रदान गर्ने, वार्षिक योजना तर्जुमा र योजना तथा कार्यक्रमहरूको अनुगमन तथा मूल्याङ्कन प्रक्रियामा उपप्रमुख तथा उपाध्यक्षको भूमिका बारेमा थप स्पष्टता ल्याउने लगायतका उद्देश्यले कार्यक्रम आयोजना गरिएको विराटनगर उपमहानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिनुभयो ।
सम्मेलनमा महानगरपालिका, उप महानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका गरेर २९१ जना उपप्रमुख तथा उपाध्यक्षहरू सहभागी हुने छन्। मौसममा आएको बदलीका कारण सबै स्थानीय तहबाट सहभागी हुन समस्या हुने देखिएको छ।


