झापा, २३ जेठ । झापाको भद्रपुर नगरपालिका–५ स्थित मेचीपुलबाट एक जना युवा पक्राउ परेका छन् भने दुई जना फरार भएका छन् ।
बिहीबार भद्रपुर–५ मेचीपुलस्थित जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बिर्तामोड–२ का २९ वर्षीय संजय चौधरीलाई पक्राउ गरेको हो ।
चौधरीसहित तीन युवालाई सोधपुछ गर्नका लागि रोक्न खोज्दा बिर्तामोड–२ का करिब ४० को लोकराज राजवंशी र करिब २८ वर्षीय गणेश राजवंशी भारततर्फ भागेर फरार भएका छन् ।
प्रहरीले संजय चौधरीलेको साथबाट ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ प्लाष्टिकसहित ३ ग्राम २२० र प्लाष्टिक बाहेक ३ ग्राम ०४ मिलिग्राम फेला परेको छ । चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको र फरार रहेका २ जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


