सन्तोष शर्मा
झापा, २३ जेठ । झापाको सदरमुकाम भद्रपुर नगरपालिका–८ चन्द्रगढीस्थित निर्माण कार्य अलपत्र अवस्थामा रहेको गिरिजाप्रसाद कोइराला स्मृति सभागृह (जीपी भवन) को निर्माण कार्य शुरु हुने भएको छ ।
करिब सात वर्षदेखि निर्माण कार्य रोकिएको जीपी भवनको निर्माण कार्य शुरु हुने भएको हो । भवन निर्माण कार्य अघि बढाउन सहरी विकास मन्त्रालय मार्फत रू तीन करोड बजेट विनियोजन भएको भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले जानकारी दिनुभयो ।



“निर्माण कार्य अघि बढाउन सहरी विकास मन्त्रालयबाट बजेट प्राप्त भएको छ”, रासससँग नगरप्रमुख पोखरेलले भन्नुभयो, “भवन निर्माणमा रकम अभाव नहोस् भनेर बजेट आएको हो ।” बजेट प्राप्त भएसँगै आगामी आर्थिक वर्षदेखि काम शुरु गरेर अधुरो भवनलाई पूरा गर्ने बाटो खुलेको उहाँले बताउनुभयो ।
खरीद ऐन १४ औं संशोधनसँगै जीवी भवन निर्माणमा देखिएको कानूनी बाधासमेट हटेको नगर प्रमुख पोखरेलले बताउनुभयो । “खरीद ऐन संशोधनसँगै सरकारले पुराना अधुरा रहेका कामहरु पूरा गर्न आह्वान गरिसकेको छ”, उहाँले भन्नुभयो, “तर, अहिलेसम्म जीपी भवनको ठेक्केदार सम्पर्क आएको देखिँदैन ।”
जीपी भवनको निर्माण अवधिको म्याद थप नहुँदा ठेकेदारले काम नगरी सबेको अवस्था रहेको बताउँदै उहाँले भन्नुभयो, “संशोधित खरीद ऐन अनुसार अब प्रक्रिया अघि बढ्छ, काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राखेर निर्णय गरेर माथिल्लो निकायमा पठाउनु भनेर स्थानीय तहलाई आदेश आइसकेको छ ।”
तत्कालीन झापा जिल्ला विकास समितिले सभागृह निर्माणका लागि रू १२ करोड ७२ लाख ६९ हजारमा ठेक्का लगाएको थियो । प्रेरा–शाह जेभी कम्पनीले विसं. २०७२ असार ९ गते निर्माण सम्झौतामा हस्ताक्षर गरेको र त्यसको म्याद विसं २०७४ भदौ ३१ गते समाप्त भएको थियो । ठेकेदार कम्पनीले करिब रू ११ करोड भुक्तानी लगिसकेको नगरप्रमुख पोखरेलले बताउनुभयो ।
यसअघि, गत चैतमा जीपी भवन निर्माणका लागि बजेट माग गर्दै भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल लगायतको टोली ज्ञापनपत्र लिएर प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको थियो । ज्ञापनपत्र बुझ्नुहुँदै प्रधानमन्त्री ओलीले भवन निर्माणमा रहेका समस्या हल गरेर निर्माण अवधि थप हुने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
“प्रधानमन्त्रीका साथै सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई पनि भेटेर हामीले कुरा राखेका थियौं”, उहाँले भन्नुभयो, “भवनका लागि राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले समेत पहल गर्नुभएको छ, उहाँहरुलाई म धन्यवाद दिन्छु ।”
विसं. २०७२ असार २८ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्षस्थ नेताहरुले बहुउपयोगी सभागृहको संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो ।
यहाँस्थित मेची रङ्गशालाको पश्चिमी छेउमा रहेको जिल्ला समन्वय समितिको खाली जग्गामा निर्माण शुरु गरिएको सभागृहको लम्बाइ ५३ मिटर र चौडाइ ३४ मिटर रहेको छ । यसको पहिलो तलामा व्यापारिक प्रयोजनका २७ वटा सटर र दोस्रो तलामा तीन वटा बैंक अट्ने फ्ल्याट र तेस्रो तलामा एक हजार जना क्षमताको अत्याधुनिक सभाहल बनाउने योजना रहेको छ ।


