सन्तोष शर्मा
भद्रपुर, १ असार । झापाको भद्रपुर नगरपालिकाले प्रदान गरेको आत्मरक्षा तालीम पाएपछि किशोरीहरुमा आत्मरक्षा गर्ने हिम्मत बढेको छ ।
भद्रपुर नगरपालिका–८ की गुञ्जन पौडेलले तालीम लिएपछि हुन सक्ने सम्भावित दुव्र्यवहारबाट आफूलाई बचाउने सक्ने हिम्मत बढेको बताउनुभयो । “तालीमबाट धेरै कुरा सिक्ने अवसर मिल्यो”, उहाँले भन्नुभयो, “कसैले ह्यारेसमेन्ट गर्न खोज्यो भने लड्ने हिम्मत गर्नुपर्नेरहेछ भन्ने सिकेँ ।”

उहाँजस्तै वीरेन्द्र मावि चन्द्रगढीकी छात्रा आकृति लिम्बूले तालीमले आफूलाई सुरक्षित गर्न सक्ने बनाएको बताउनुभयो । आफूजस्तै धेरै साथीहरु तालीमबाट ‘सेल्फडिफेन्स’ गर्न सक्ने भएको उहाँले बताउनुभयो । “कसरी जोगिने भन्ने सिकेँ”, उहाँले भन्नुभयो, “यस्ता तालीम हामी जस्ता सबैले लिनुपर्ने रहेछ ।”
तालीमकी प्रशिक्षक मेचीनगर नगरपालिका–४ की सम्झना सारु मगरले किशोरीहरू अहिले घरमा समेत असुरक्षित रहेकाले आत्मरक्षा तालमी जरूरी रहेको बताउनुभयो । “अहिलेको समयमा किशोरी कहीँ पनि सुरक्षित छैनन्”, उहाँले भन्नुभयो, “उनीहरुलाई आफ्नो रक्षा आफैँ गर्न सक्ने बताउन जरुरी छ ।”
तालीममा विभिन्न तरिकाबाट हुनसक्ने आक्रमणबाट बच्ने उपाय सिकाइएको उहाँले बताउनुभयो । पाँच दिने तालीम दिइएकोमा अवधि थपेर अझ प्रभावकारी थप तालीम दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
“कतिपय अभिभावकहरु यो सिकेर के गर्ने ? किन सिकाउने ? भन्ने प्रश्न गर्नुहुन्छ”, प्रशिक्षक सारु मगरले भन्नुभयो, “सम्भावित जोखिमबाट बच्न तालीमले धेरै मद्दत मिल्छ, अभिभावकलाई पनि यो कुरा बुझाउन जरूरी देखिन्छ ।”
बालमैत्री नगरको दीगोपनाका लागि किशोरीहरुलाई आत्मरक्षा तालीम प्रदान गरिएको नगरपालिकाकी सामाजिक शाखा प्रमुख जीवनकला राउतले बताउनुभयो । यो वर्ष नगर क्षेत्रका दुर्ई वटा निजी र चार वटा सामुदायिक विद्यालयका दुई सय ७५ जना किशोरीलाई आत्मरक्षा तालिम प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । आत्मरक्षासँगै साइबर क्राइम र लागुऔषधविरुद्धको सचेतना समेत प्रदान गरिएको उहाँले बताउनुभयो ।
प्याब्सन भद्रपुरसँगको सहकार्यमा दुई वटा संस्थागत विद्यालय ज्ञानसरोवर निकेतन र मुनाल एकाडेमीको ४७ जना छात्रा र सामुदायिक विद्यालयतर्फ भद्रपुरमा मावि भद्रपुर–६, चन्द्र भानु मावि, हिमाली मावि र वीरेन्द्र माविको दुई सय २८ जना छात्रालाई तालीम प्रदान गरिएको छ ।
नगरपालिकाले चालू आर्थिक वर्ष २०८१÷०८२ मा किशोरीहरुलाई आत्मरक्षा तालीम प्रदान गर्न रू चार लाख ५० हजार बजेट विनियोजन गरेको छ ।


