झापा, २ असार । झापामा जेठ महिनामा ५१ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोली र मातहत प्रहरी युनिटबाट विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका ४३ जना पुरुष, सात जना महिला र एक जना तेस्रो लिङ्गीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
विभिन्न मुद्दा शीर्षकमा फरार रही दोषी प्रमाणित भएका फरार प्रतिवादीहरु पक्राउ गरी आवश्यक कारबाहीका लागि झापा जिल्ला अदालतमा उपस्थित गराई कैद असुल गर्न बाँकी रहेका प्रतिवादीलाई कैद भुक्तानका लागि झापा कारागार कार्यालय झापा पठाइएको उहाँले बताउनुभयो ।
जरिवाना असुल मात्र बाँकी रहेका प्रतिवादीलाई जरिवाना दाखिला गराई लगत कट्टा गरी छुट गएको र सोबाट ३१ वर्ष ५ महिना २६ दिन कैद तथा रू दुई करोड ९९ लाख ७८ हजार पाँच सय ६० जरिवाना असुल गरिएको प्रवक्ता खड्काले बताउनुभयो ।
झापा प्रहरीले गत २०७२ असार १६ गते उच्च अदालत विराटनगर इलाम इजलासले जबरजस्ती करणी र जबरजस्ती चोरी मुद्दामा १० वर्ष कैद फैसला तोकेर फरार रहेका मेचीनगर–७ का ३२ वर्षीय प्रदिप राई र उच्च अदालत पाटनले गत २०८० फागुन २९ राजश्व चुहावट मुद्दामा एक वर्ष दुई महिना १५ दिन कैद र रू दुई करोड ८४ लाख ५८ हजार छ सय पाँच जरिवाना फैसला भई फरार रहेका बिर्तामोड–८ का ३० वर्षीय अमिर विश्वकमा लगायतलाई पक्राउ गरेको छ ।


