
बिर्तामोड, २ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्र आएपछि केही भएन भनेर नकारात्मक टिप्पणी मात्रै नगर्न आग्रह गर्नुभएको छ ।
नेपाली कांग्रेस झापाको विस्तारित बैठकलाई आज सम्बोधन गर्नुहुँदै महामन्त्री शर्माले नकारात्मक टिप्पणी मात्रै नगर्न आग्रह गर्दै लोकतन्त्र आएपछि उल्लेख्य प्रगति भएको बताउनुभयो ।
“शिक्षा, स्वास्थ्य, सूचना–सञ्चार, सडक सञ्जाल, विद्युत विस्तार लगायत कार्यमा उल्लेख्य प्रगति भएको छ”, महामन्त्री शर्माले भन्नुभयो, “लोकतन्त्रको स्थापनापछि कांग्रेसको नेतृत्वमा भएका विकास निर्माण र समृद्धिको प्रचार गर्न पार्टीले सकेको छैन ।” अन्य दलले साना उपलब्धिलाई समेत ठूलो आवाजमा प्रस्तुत गर्ने गरेको उहाँले उल्लेख गर्नुभयो ।
महामन्त्री शर्माले २०८२ फागुनदेखि पार्टीका तहगत समितिहरुको अधिवेशन शुरु भई पार्टीको १५ औं महाअधिवेशन २०८३ भदौमा सम्पन्न हुने बताउनुभयो । विस्तारित बैठकमा सगरमाथा आरोहणका क्रममा ७ हजार २ सय मिटरसम्मको यात्रा पूरा गरेर फर्कनुभएका शर्मालाई कांग्रेस झापाले सम्मान गरेको छ ।
बैठकले आगामी असार १५ गते धान दिवस मनाउने निर्णय गरेको छ । बैठकले नेपाल किसान संघको आयोजनामा हल्दिबारी गाउँ समितिका उपसभापति होम चुडालको खेतमा रोपाइँ गरी धान दिवस मनाउने निर्णय गरेको नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले जानकारी दिनुभयो । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा बैठक सम्पन्न भएको छ ।


